पाथीभरा केबुलकार विवादः झपडमा १३ घाइते

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन ८ । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबुलकारको विषयलाई लिएर आन्दोलनरत पक्ष र प्रहरीबिच झडप हुँदा तेह्र जना घाइते भएका छन् । बिहीबार केबुलकार निर्माणस्थलमा भएको झडपमा प्रहरीसहित १३ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार केबुलकारको विरोध गर्दै आएको पक्ष र प्रहरीबिच झडप हुँदा ११ जना प्रहरी, एकजना आन्दोलनकर्मी र एकजना सर्वसाधारण अर्थात सवारी चालक घाइते भएका छन् । प्रहरीतर्फ घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी रहेका छन् ।
नो केबुलकार समूहले पूर्वघोषित कार्यक्रमअनुसार बिहीबार पाथीभरा क्षेत्रमा पदयात्रासँगै केबुलकारविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा आन्दोलनरत पक्ष केबुलकार निर्माणस्थलतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । आन्दोलनरत पक्षको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।
नो केबुलकार समूहको प्रदर्शन असमान्य हुने स्थिति बनेपछि अश्रुग्यास प्रहार गर्नुपरेको प्रमुख नेत्रप्रसाद शर्माको भनाइ छ । आन्दोलनरत पक्षले केबुलकारविरुद्ध चर्को नाराबाजीसहित प्रदर्शन गर्दै निर्माणस्थलमै कोणसभा गरेका छन् । यता झडपमा परी घाइते भएकाहरुलाई एम्बुलेन्समार्फत उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
यस्तै पदयात्रा सुरु गर्नुपूर्व पाथीभरा क्षेत्रको माथिल्लो फेदीमा आयोजित कोणसभालाई पहिचानवादी नेता डकेन्द्रसिंह थेगिम र राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले सम्बोधन गर्नुभएको थियो । कोणसभालाई सम्बोधन गर्दै उहाँहरुले केबुलकार निर्माण गर्न नहुने भनाइ राख्नुभयो ।
यता पदयात्रामा सहभागी हुन जसपा नेपालका नेता तथा पूर्वमन्त्री रकम चेम्जोङ, पूर्वमन्त्री गोपाल किराँतीलगायतका नेता सहभागी बन्नुभएको छ । केबुलकारको विरोध गर्दै आएको नो केबुलकार पक्षले मङ्गलबारदेखि बिहीबार तीन दिनसम्म घोषित कार्यक्रमअनुसार पाथीभरा क्षेत्रमा केबुलकारविरुद्ध पदयात्रा गरेका छन् ।