| |

ताप्लेजुङमा सात हजार किशोरीले लगाए एचपिभी खोप

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन ८ । ताप्लेजुङमा करिव सात हजार किशोरीले पाठेघरको क्यान्सरविरुद्ध एचपिभी खोप लगाएका छन् । पाठेघरको क्यान्सर विरुद्धको खोप अभियानअन्तर्गत उक्त सङ्ख्यामा किशोरीले खोप लगाएका हुन् ।
स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार जिल्लामा दुई चरणमा एचपिभी खोप अभियान सञ्चालन गरिएको थियो । माघ २२ देखि फागुन ६ गतेसम्म राष्ट्रियस्तरमा खोप अभियान सञ्चालन भएको भए पनि ताप्लेजुङमा भने फागुन ३ गतेसम्म सञ्चालन गरिएको थियो ।
नौ स्थानीय तह रहेको जिल्लामा माघ २२ देखि २६ गतेसम्म र दोस्रो चरणमा माघ २८ देखि फागुन ३ गतेसम्म खोप अभियान सञ्चालन भएको थियो । उक्त दुई चरणमा सञ्चालित अभियानमा कुल सात हजार १२० जना किशोरीलाई एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालयका कोल्चेन अधिकृत एवम् खोप स्रोत व्यक्ति दिनेश रायले जानकारी दिनुभयो ।
रायका अनुसार सदरमुकामस्थित फुङ्लिङ नगरपालिका, पाथीभरा याङ्वरक गाउँपालिका, सिरिजंघा गाउँपालिका र सिदिङ्वा गाउँपालिकामा पहिलो चरणमा खोप अभियान सञ्चालन भएको थियो । उक्त चारवटा स्थानीय तहमा चार हजार ३५२ जना किशोरीले एचपिभी खोप लगाएका छन् । सबैभन्दा बढी फुङ्लिङमा दुई हजार ४७६ जना किशोरीले खोप लगाएका छन् ।
यस्तै पाथीभरा याङ्वरकमा ५१४, सिरिजङ्घामा ८२५ र सिदिङ्वा गाउँपालिकामा ५३७ जना किशोरीले खोप सेवा प्राप्त गरेका छन् । त्यस्तै दोस्रो चरणमा फक्ताङ्लुङ गाउँपालिका, मैवाखोला गाउँपालिका, मिक्वाखोला गाउँपालिका, आठराई त्रिबेणी र मेरिङ्देन गाउँपालिकाका दुई हजार ९६८ जना किशोरीले एचपिभी खोप लगाएका छन् ।
फक्ताङ्लुङ गाउँपालिकामा ६३६ जना, मैवाखोलामा ५२७, मिक्वाखोलामा ३६५, आठराई त्रिबेणीमा ६३८ र मेरिङ्देन गाउँपालिकामा ६०२ जना किशोरीले खोप लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ । करिव छ हजार ७८० जना किशोरीलाई खोप दिने स्वास्थ्य कार्यालयले लक्ष्य राखेकोमा २४८ जना बढी किशोरीलाई खोप प्रदान गरिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख कुलबहादुर पौडेलका अनुसार १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपिभी खोप लगाइएको हो ।

Similar Posts