| |

‘नदीको यात्रा’ कविता सङ्ग्रह सार्वजनिक

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन ७ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–४ तेल्लोक निवासी कवि निमेष अविरल (रुकमान थेबे) को कविता सङ्ग्रह ‘नदीको यात्रा’ सार्वजनिक गरिएको छ । बुधबार सदरमुकाम फुङ्लिङमा आयोजित कार्यक्रमकाबिच अविरलको कविता सङ्ग्रह सार्वजनिक गरिएको हो ।
जिल्लास्थित कञ्चनजंघा साहित्यिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अग्रज साहित्यकार तथा संगीतकार भरत गुरुङ लगायतले कविता सङ्ग्रह सार्वजनिक गर्नुभएको हो । कुल १७० पृष्ठको कविता सङ्ग्रहभित्र दुई खण्डमा गरी ८५ वटा कविता समावेश छन् । पहिलो खण्डमा ५४ वटा गद्य कविता र दोस्रोमा ३२ वटा गीति कविता रहेको छ ।
लेखकको पहिलो कृतिका रुपमा प्रकाशित सङ्ग्रहमा देशभक्ति, राजनीतिक परिवेश, सामाजिक परिस्थितिजस्ता भावलाई चित्रित गर्ने खालका कविताहरु समावेश गरिएका छन् । कविता सङ्ग्रहको समीक्षा भने कविद्वय दुःखी महल तिम्सिना र लेकाली कान्छा मुक्कुमले गर्नुभएको छ । सङ्ग्रहको समीक्षा गर्दै समीक्षकले सन्देशमुलक साथै उत्कृष्ट कविताहरु पुस्तकमा रहेको उल्लेख गर्नुभएको छ ।
शिक्षण पेशामा आवद्ध कवि अविरलले उपलब्ध समयलाई साहित्य साधना अर्थात सिर्जना लेखनमा उपयोग गरेका कारण कविता सङ्ग्रह तयार पारी प्रकाशन गर्न सफल भएको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष कमल भट्टराई ‘अकिञ्चन’को अध्यक्षतामा भएको कार्यक्रममा साहित्य क्षेत्रमा आवद्ध साहित्यकार, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Similar Posts