‘पदयात्राबाट फर्कदा तपाँईहरु आफैं केवलकार त चाहिन्छ नै भन्नुहुन्छ’: नगरप्रमुख मादेन

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन ६ । ताप्लेजुङको फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले मुक्कुमलुङ पदयात्रामा जानेहरु आफैंले पदमार्गको कठिनाई देखेर केवलकार बनाउनुपर्छ भन्ने सन्देश बोकेर फर्कने विश्वास व्यक्त गर्नु भएको छ ।
‘मुक्कुमलुङ पदयात्रामा जानेहरुलाई यात्रा सफलताको शुभकामना दिन्छु,पाथीभरा महिमा बृद्धिका लागि यस्ता पदयात्रा लाभदायक हुन्छन्’केवलकार निर्माणको पक्षमा रहेकाहरुले मंगलवार फुङलिङमा निकालेको सद्भाव ¥याली पछि आयोजित सभालाई सम्बोधन गर्दै नगरप्रमुख मादेनले भन्नुभयो । उहाँले पाथीभरा क्षेत्रको पदमार्गमा तीर्थालुले भोगेको यात्रा कठिनाई र खर्चिनु परेको लामो अवधिको अन्त्यका लागि केवलकार बनाउनु आवश्यक रहेकोमा जोड दिनुभयो । केवलकार निर्माणको नाममा मुन्धुमीस्थल मुक्कुमलुङ क्षेत्रमा धार्मिक साँस्कृतिक अतिक्रमण भइरहेको भन्दै ‘नो केवलकार’पक्षधरले आन्दोलन स्वरुप फागुन ८ गते सम्म पदयात्रा गर्ने घोषणा गरेका छन् । सोहि पदयात्राप्रति नगरप्रमुख मादेनको टिप्पणी थियो । उहाँले केवलकार निर्माणले धार्मिक सांस्कृतिक अतिक्रमण हुने नभई सबैभन्दा कम पर्यावरणीय क्षतिमा आधुनिक र सुविधा सम्पन्न यातायातको साधन जिल्ला भित्र्याउने दावी गर्नुभयो । केवलकार निर्माणले जिल्लाको आर्थिक,सामाजिक र सांस्कृतिक क्षेत्रमा समृद्धि स्थापित हुने उहाँको तर्क थियो ।
केवलकार बनाउनुपर्ने पक्षधरहरुको सद्भाव ¥याली पछि आयोजित कोणसभामा केहिदिन अघि ‘नो केवलकार’पक्षधरले धरानमा कालोमोसो दलेका केवलकार पक्षधर पदम चेञ्जी मावोलाई खादा लगाएर सम्मान पनि गरिएको छ । मावोले पाथीभरामा केवलकार बन्नुपर्ने तर्क राख्दै ‘नो केवलकार’पक्षधरको अडान र व्यवहार सहि नभएको टिप्पणी गर्नुभयो । कोणसभामा महिला नेतृ मीनाकुमारी गुरुङ,छबिरमण गुरुङ सहितले केवलकारको पक्षमा बोल्नु भएको थियो । यसअघि सामुदायिक भवन सिटीहलबाट सुरु भएको ¥यालीले नगर परिक्रमा गरेको थियो । बृद्ध–बृद्धा के भन्छ,केवलकार ले भन्छ’ ‘अशक्तले के भन्छ,केवलकार ले भन्छ’ताप्लेजुङ जिल्लाको समृद्धिको आधार, पाथीभरा मुक्कुमलुङमा केवलकार’जस्ता नारा लगाउँदै प्रर्दशन गरिएको थियो ।
यता केवलकार निर्माणको बिपक्षमा रहेका आन्दोलनरत पक्षले पाथीभरा मन्दिरमा क्षमा पूजा र मुक्कुमलुङ पदयात्रा गर्ने भएका छन् । पदयात्रा फागुन ८ गते बिहीबार फुङलिङ आइपुग्ने ‘नो केवलकार’पक्षका नवीन पोमूले जानकारी दिनुभयो । पोमूका अनुसार पाथीभरा मन्दिरमा क्षमापूजा भने हरेक दिन बिहान गर्नेगरी तयारी गरेको छ । मुन्धुमी धार्मिक स्थलमा भौतिक संरचना बनाएर साँस्कृतिक अतिक्रमण गरेको भन्दै युमामाङसँग प्रार्थनाका लागि क्षमा पूजा गर्न लागिएको‘नो केवलकार’पक्षले जनाएको छ ।