पालिकाको केन्द्र आसपासको करिव ५ सय मिटर सडक कालोपत्रे गर्दै आठराई त्रिबेणी

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन ६ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले पालिकाको केन्द्र रहेको क्षेत्रको ५ सय मिटर वरपरको सडक कालोपत्रे गर्ने भएको छ ।
गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले पालिकाको प्रशासकीय भवन पूरा हुन लागेको र पालिका आसपासको सडक समेत कालोपत्रे गर्ने प्रकृया सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार २०८२ सालको नयाँ बर्षसंगै पालिका क्षेत्रका महत्वपूर्ण तीन योजना पूरा भई कार्यान्वयमा आउने छन् । पक्की सडक क्षेत्रमा ढल निकासको उचित प्रवन्ध समेत गरिएको पालिकाले जनाएको छ । पोमूका अनुसार पालिकाको केन्द्रमा भलिबल सम्म खेल्न मिल्नेगरी इन्डोर हल समेत बनाउने प्रकृया अघि बढेको छ । पोमूले पालिका आसपासको सडक कालोपत्रे,प्रमुख प्रशासकीय भवन र इन्डोर हल गरी तीनवटै योजना ढिलोमा आउँदो बैशाख भित्रमा एकैसाथ उद्घाटन हुनेगरी प्रकृया अघि बढेको जानकारी दिनुभयो ।
पोमूका अनुसार प्रमुख प्रशासकीय भवनको करिव ९० प्रतिशत काम सम्पन्न भएको छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका,फुङलिङ नगरपालिका,मेरिङदेन गाउँपालिका र पाथीभरा याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय भवनहरु निर्माण भई ति पालिकाले आफ्नै भवनबाट सेवा दिइरहेका छन् । आठराई त्रिबेणी गाउँपालिकाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मैवाखोला गाउँपालिका,मिक्वाखोला गाउँपालिका,फक्ताङलुङ गाउँपालिका र सिदिङ्वा गाउँपालिकाका प्रशासकीय भवनहरुको निर्माण कार्य भईरहेको छ ।