करिव ४५ सय मिटर उचाईमा साहसिक म्याराथन सञ्चालन गर्दै सिरिजङ्गा गाउँपालिका

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन ५ । समुद्र सतहदेखि करिव ४ हजार ५ सय मिटर उचाईको कञ्चनजंघा आधार शिविर क्षेत्रमा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ ।
सिरिजङ्गा महोत्सव–२०८२ को अवसरमा आउँदो बैशाख १३ देखि १५ गते सम्म उक्त उचाईमा साहसिक खुल्ला हाफ म्याराथन प्रतियोगिता हुन लागेको हो । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूले साहसिक खुल्ला हाफ म्याराथन प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुभयो । यसबर्ष कञ्चनजंघा हिमाल आरोहणको ७० औं बार्षिक उत्सव पनि मनाइदैं छ ।
सिरिजङ्गा महोत्सवको अवसर पारेर उक्त म्याराथन प्रतियोगिता सञ्चालन हुने पालिका उपाध्यक्ष मावोले जानकारी दिनुभयो । उहाँका अनुसार म्याराथन प्रतियोगिताका विजेतालाई २ लाख ८ हजार ५ सय ८६ रुपैयाँ पुरस्कार दिइने छ । यस्तै दोस्रो हुनेलाई १ लाख ८ हजार ५ सय ८६ रुपैयाँ र तेस्रो हुनेलाई ८५ हजार ५ सय ८६ रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।
विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालको उचाई ८ हजार ५ सय ८६ मिटर रहेको छ । सोहि उचाईलाई आधार मानेर अन्तिम पुरस्कार राशी पनि ८ हजार ५ सय ८६ को रुपमा मिलाईएको हो ।
म्याराथनका लागि नयाँ झोरेनी–कस्तुरेडाँडा–झण्डेडाँडा–सिन्दुरे ढुङ्गा–तुप्लुङ–दुण्दुडाँडा–ढाँडचौक–भेडी चोक हुँदै मछेवा पुग्ने करिव २४ किलोमिटर दूरी तय गरिएको छ । म्याराथनसंगै माउन्टेन साइक्लिङ समेत सञ्चालन गर्ने पालिकाको तयारी छ ।