फागुन ७ गते भित्र सडकका गोलिया नहटाए फक्ताङलुङ गाउँपालिकाले जफत गर्ने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन ३ । सडकनै अवरुद्ध हुनेगरी राखिएका गोलियाहरु तत्काल हटाउन चेतावनी दिएको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले फागुन ७ गते भित्र गोलिया नहटाए जफत गर्ने भएको छ ।

पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले पालिका भित्रका सार्वजनिक बाटोहरुमा लापरवाही तरिकाले राखिएका गोलिया हटाउन फागुन ७ गते बुधवार सम्ममा नहटाए जफत गरी सम्वन्धित व्यक्तिलाई जरीवाना र कानुनी कारवाही गर्ने बताउनु भएको छ । उहाँका अनुसार गाउँपालिका क्षेत्र भित्रका बिभिन्न सडकहरुमा एम्बुलेन्स सहितका सवारी साधन समेतलाई असर गर्नेगरी गोलिया राखिएका छन् ।

गोलिया राखिएका सम्वन्धित धनीले फागुन ७ गते भित्र सडक क्षेत्रबाट उक्त गोलिया निकाली सक्न पालिकाले समयसीमा दिएको छ । उक्त समयसीमा भित्र सडकमा राखिएका गोलिया धनीले आफैं ननिकाले पालिकाले जफत गरी जरीवाना गर्ने छ भने गोलिया हटाउँदा लागेको शुल्क समेत गोलिया धनीबाट असुल गर्ने भएको छ । यस्तै सडक अबरुद्ध पारेको कसुरमा कानुनी कारवाहीका लागि सम्वन्धित निकायलाई अनुरोध गर्ने समेत पालिकाले जनाएको छ ।

सडक ऐन २०३१ अनुसार तोकिएको सडक क्षेत्र भित्र कुनैपनि किसिमको संरचना बनाउन,स्वीकृति नलिई सार्वजनिक सडक वा सडक सीमामा कुनै किसिमको काम कार्य नहुने र सार्वजनिक सेवाको आवागमना बाधा पु¥याए त्यस्तो मालबस्तु हटाउन पाउने अधिकार रहेको छ । ऐन अनुसार मालबस्तु हटाउँदा लाग्ने शुल्क समेत मालबस्तु धनीबाटै असुल गर्नुपर्ने छ ।

Similar Posts