कञ्चनजंघा हीरक महोत्सवका लागि लोगो र नारा सार्वजनिक

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २८ । कञ्चनजंघा हिमाल सफल आरोहणको ७० बर्ष पुगेको अवसरमा मनाइने ‘कञ्चनजंघा प्याटिनम जुब्ली’२०८२ को लोगो र नारा सार्वजनिक भएको छ ।

महोत्सव संयोजन समितिले सोमवार फुङलिङमा लोगो र नारा सार्वजनिक गरेको हो । २०८२ साल बैशाख ५–७ मा ताप्लेजुङको फक्ताङलुङस्थित लेलेपमा महोत्सव आयोजना हुँदैछ । महोत्सवका लागि ‘कञ्चनजंघा संरक्षण क्षेत्र प्रकृतिको उपहार,संरक्षण क्षेत्रमा पर्यापर्यटन समृद्धिको आधार’तय गरिएको छ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सदस्य सचिव मनकुमार राईको उपस्थितिमा महोत्सव संयोजन समितिका संयोजक एवम् कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कोषाध्यक्ष छोवाङ शेर्पाले महोत्सवको लोगो सार्वजनिक गर्नु भएको हो । कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को संयोजनमा समृद्ध पहाड परियोजना र कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालय सहितको सहभागितामा महोत्सव हुन लागेको हो ।

महोत्सवका लागि कोशी प्रदेश सरकारसंग समेत समन्वय भइरहेको र प्रदेश सरकारबाट आर्थिक तथा कार्यक्रमगत साझेदारी हुने संकेत समेत आफुहरुले पाएको परिषद्का सदस्य सचिव राईले बताउनुभयो । उहाँका अनुसार अनुसार कञ्चनजंघा संरक्षण क्षेत्रमा रहेका पर्यटयिक क्षेत्रहरूको प्रचार–प्रसार,पदयात्राका लागि आह्वान,स्थानीय समुदायको संस्कार र संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम,स्थानीय उत्पादनको प्रवद्र्धन र संस्कार र संस्कृतिमा आधारित स्थानीय समुदायका खाद्य परिकारको प्रवद्र्धन सहितका कार्यक्रम सञ्चालन गरी महोत्सव मनाइने छ । महोत्सवका बेला भलिबल प्रतियोगिता समेत सञ्चालन हुने छ ।

लेलेपमा हुने कार्यक्रममा कञ्चनजंघा हिमालको सफल आरोहण गरेका व्यक्ति र र आरोहण गरेका व्यक्ति जीवित नभएको अवस्थामा आरोहणकर्ता सदस्यका परिवारलाई समेत आमन्त्रण गर्ने योजना रहेको छ । कञ्चनजंघा हिमालसहित कञ्चनजंघा संरक्षण क्षेत्र भित्र रहेका पर्यटकीय सम्पदाहरूको प्रचार–प्रसार र प्रवद्र्धनलाई मुख्य आधार मानेर कार्यक्रम अघि सारिएको संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । कञ्चनजंघा हिमाल,कञ्चनजंघा हिमाल आरोहणको महत्व र विशेषता झल्काउन पनि उक्त कार्यक्रमले सहयोगी भूमिका निर्वाह गर्ने आयोजकको बुझाई छ । आरोहण गरेका व्यक्तिहरूका अनुभव समेत आदान–प्रदान हुने कार्यक्रम त्यसैका लागि राखिएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ ।

कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूका अनुसार लेलेपमा सम्पन्न हुने तीनदिने हीरक महोत्सवका कार्यक्रमपछि संघीय राजधानी काठमाडौंमा राष्ट्रिय तहको कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजंघा (८,५८६ मिटर) हिमाल ताप्लेजुङ जिल्लामा पर्छ । सन् १९५५ मे २५ तारेखका दिन कञ्चनजंघाको पहिलो पटक सफल आरोहण भएको थियो । बेलायती नागरिक जर्ज ब्याण्ड र जो ब्राउनले कञ्चनजंघाको पहिलो पटक सफल आरोहण गरेको मानिन्छ ।

 

Similar Posts