जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड :उद्घाटनको दिन माघ २७ गते मैवाखोलाले दियो स्थानीय बिदा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २५ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनको दिन माघ २७ गते ताप्लेजुङको मैवाखोला गाउँपालिकाले स्थानीय बिदा दिएको छ ।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले उक्त दिन पालिकाले स्थानीय बिदा दिएको जानकारी दिनुभयो । जिल्ला खेलकुद विकास समितिको आयोजना तथा मैवाखोला गाउँपालिकाको संयोजनमा माघ २७ गतेदेखि नारायण मावि साँघुमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै छ । प्रतियोगितामा ६६ स्वर्ण,६६ रजत र ७० कास्यका लागि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट जिल्ला स्तरीय प्रतियोगिताका लागि छनौट भएका खेलाडीले स्पर्धा गर्ने भएका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बू(गणेश)ले प्रतियोगिताको तयारी लगभग पूरा भएको जानकारी दिनुभयो ।

मैवाखोला गाउँपालिका अध्यक्ष वनेमले प्रतियोगिताको संयाजनकर्ता आफ्नो पालिका रहेकोले खेलाडी तथा खेलप्रेमी महानुभावहरुको स्वागत र सत्कारका सहित व्यवस्थापनको कार्य लगभग पूरा भएको बताउनुभयो । ‘हामी सभ्य र भव्य ढंगले प्रतियोगिता सम्पन्न गर्नेगरि सबै किसिमले तयारी अवस्थामा छौं’अध्यक्ष वनेमले भन्नुभयो । उहाँका अनुसार उद्घाटनको दिन माघ २७ गते करिव १ हजार ५ सय बिद्याार्थीले एकैपटक नृत्य प्रस्तुत गर्नेगरी तयारी गरिएको छ । उक्त नृत्यमा पालिकाका सबै बिद्यालयहरुको प्रतिनिधित्व हुने समेत पालिकाले जनाएको छ ।

मैवाखोला गाउँपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक ल्याउने खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रोत्साहन रकम दिने घोषणा समेत गरेको छ । यसअघि मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामले पनि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक ल्याउने खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रोत्साहन रकम दिने घोषणा गरिसक्नु भएको छ । मैवाखोला गाउँपालिकाले खेल अवधिभर पालिकाबाट सहभागी भएका खेलाडीको १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा समेत गरिदिएको जनाएको छ ।

Similar Posts