शान्तिपूर्ण ढंगले सौन्दर्य,प्रकृति र शक्तिको क्षयीकरण नहुनेगरी केवलकार निर्माण हुनुपर्छ:काँग्रेस ताप्लेजुङ
खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १७ । नेपाली काँग्रेस ताप्लेजुङले न्यूनतम् सहमति गरेर शान्तिपूर्ण ढंगले सौन्दर्य,प्रकृति र शक्तिको क्षयीकरण नहुनेगरी पाथीभरामा केवलकार निर्माण हुनुपर्ने धारणा सार्वजनिक गरेको छ ।
बिहीबार पत्रकार सम्मेलनमार्फत नेपाली काँग्रेसले पाथीभरा क्षेत्रमा देखिएको बिबाद सहित ताप्लेजुङमा सञ्चालित जलबिद्युत परियोजनाका बिषयमा आफ्नो धारणा सार्वजनिक गरेको हो । नेपाली काँग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले आन्दोलनको प्रस्थान बिन्दु पत्ता लगाएर त्यसभित्रबाट न्यूनतम् सहमति सहित समस्याको दिगो समाधान हुनेगरी केवलकार निर्माण हुनेपर्ने पक्षमा आफुहरु रहेको जानकारी दिनुभयो ।‘पहिचान पनि भेटिने र द्धन्दपनि मेटिने‘हिसावले अघि बढ्नु अहिलेको आवश्यकता रहेको काँग्रेस ताप्लेजुङले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।‘सहअस्त्वि र समभाव स्थापित गर्दै विकास मानिसका लागि हो र मानिसलाई हत्या हिंसा गरेर निर्माण भएको पूर्वाधार विकास होइन’विज्ञप्तिमा काँग्रेसले भनेको छ ।
केवलकार निर्माण पक्ष र आन्दोलनरत पक्ष दुबैको अहिलेको प्रस्तुतिले साम्प्रदायिक सद्भाव भड्किने परिस्थति निर्माण भएको भएको भन्दै काँग्रेसले दलबलबाट नभई बार्ता र सहमतिबमाट समस्याको समाधान खोजिनुपर्नेमा जोड दिएको छ । काँग्रेसले धार्मिक र सांस्कृतिकस्थल रक्षाको आन्दोलनमा रहेका आन्दोलनकारीलाई बार्ताको टेवलमा आएर सम्बाद र सहमतिका माध्यमबाट अघि बढ्न आग्रह गरेको छ । अनिश्चितकालिन बन्द हड्तालले जनजीवन अस्तव्यस्त भएको उजागर गर्दै काँग्रेसले उचित समयमा उचित निर्णय गरी बन्द हड्ताल फिर्ता लिन आन्दोलनरत पक्षलाई आग्रह गरेको छ । आन्दोलनरत पक्ष र केवलकार निर्माणपक्ष दुबैले हठ त्यागेर अधिकतम् लचकता र संयमताका साथ शान्तिपूर्ण वातावरण सृजना गरी बार्तामा बस्न काँग्रेसले सबैलाई आग्रह गरेको छ ।
सरकार र सुरक्षा प्रमुखहरुलाई नागरिकको बिरुद्धमा जबरजस्त बल प्रयोग गरी राज्य शक्तिको दुरुपयोग नगर्न समेत काँग्रेसले आग्रह गरेको छ । काँग्रेसका जनप्रतिनिधि तथा जिम्मेवार नेता कार्यकर्ताहरुलाई अनावश्यक साम्प्रदायिक दंगा भड्काउने किसिमले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति नदिन र गैर जिम्मेवारपूर्ण क्रियाकलापन नगर्न काँग्रेस ताप्लेजुङले सचेत समेत गराएको छ । पार्टीको आचरण भन्दा बाहिर गएर अभिव्यक्ति दिए वा गैह्र जिम्मेवार क्रियाकलापमा सहभागी भए त्यसबाट हुने क्षतिको जिम्मेवार र जवाफदेहि आफैं हुनुपर्ने समेत काँग्रेसले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
सभापति तुम्याहाङ र सचिवद्धय युकहाङवीर(डम्बर हाङगाम तथा सञ्जयबाबु(गणेश)निरौला तीनजनाद्धारा हस्ताक्षरित विज्ञप्तिमा निजी क्षेत्रको लगानी प्रोत्साहन तथा जिम्मेवारी सम्वन्धी धारणा समेत प्रस्तुत गरिएको छ । उक्त सम्वन्धी १० बुँदे अवधारणामा जलबिद्युत आयोजनाले आयोजना सम्पन्न गनुपूर्व कति स्थानीय नागरिकलाई रोजगारीको अवसर दिईएको हो ? सामाजिक उत्तर दायित्वको रकम हालसम्म खर्च भएको योजना र लगानी गरिएको स्थान पारदर्शी बनाउन,मुख्य शेयरवाला वा लगानीकर्ता ताप्लेजुङका नागरिक कोको छन् सार्वजनिक गर्न र आयोजना सम्पन्न पश्चात स्थानीय कति संख्याले दिगो रोजगारी पाएका छन्,त्यो सार्वजनिक गर्न माग गरिएको छ ।
विज्ञप्तिमा ताप्लेजुङ जिल्लाका नागरिक,कर्मचारीहरु,प्रवद्र्धक शेयर र सर्वसाधारणको शेयर प्राप्तकर्ता संख्या सार्वजनिक गर्न,बिद्युतको केन्द्रीय बिद्युत प्रसारण लाइन अवरुद्ध भएकोमा समयमा पनि ताप्लेजुङ जिल्लामा उत्पादित बिद्युत जिल्लावासीलाई उपलब्ध हुने वातावरण बनाउन,पाथीभराको बाहिरी ठूलो गेट भन्दा भित्र पाथीभराको दैविक प्राकृतिक स्वरुप र शक्ति तरंगलाई परिवर्तन गर्ने खालको कुनै संरचना नबनाउन,पैदलमार्गबाट पाथीभरा दर्शन गर्न जाने तीर्थयात्रीका लागि माथिल्लो फेदि सम्मको यात्रा सहजताका लागि मोटरबाटो खन्ने बजेटको व्यवस्था गर्न नेपालको विकासका लागि निजी क्षेत्रको लगानी अनिवार्य भएकोले लगानी प्रोत्साहन र सुरक्षाका लागि शान्ति र मैत्रीपूर्ण वातावरण सृजना गर्न सम्वन्धित सबैपक्षसंग आग्रह गरिएको छ ।