‘नो केवलकार’ पक्षधरद्धारा फुङलिङमा प्रर्दशन र नाराबाजी
उज्यालो पोष्ट
ताप्लेजुङ,माघ १६ । ‘नो केवलकार’ पक्षधरहरुले बुधवार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रर्दशन गर्दै आफ्ना मागहरु सडकमार्फत पुनःदोहोर्याएका छन् ।
केवलकार खारेजीको पक्षमा रहेकाहरुले पक्राउ परेका आफ्ना ‘योद्धा’हरुको रिहाई,पाथीभरा क्षेत्रमा रहेका सुरक्षाकर्मीको फिर्ता र केवलकार निर्माण पूर्ण रुपमा खारेजी सहितको माग गरेका छन् । पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु लिम्बू,किराँत याक्थुङ चुक्लुङका केन्द्रीय अध्यक्ष प्रेम यक्तेन सहितको उपस्थितिमा सडकमा प्रर्दशन गर्दै ‘नो केवलकार’ पक्षधरहरुले वीरेन्द्रचौकमा कोणसभा गरेका छन् । कोणसभामार्फत पनि उनीहरुले प्रर्दशनका क्रममा प्रस्तुत भएका नारामै केन्द्रित रहेर केवलकार खारेज हुनुपर्ने बताएका थिए ।
केवलकार निर्माणको बिरोध गरिरहेका र सुरक्षाकर्मीबिच माघ १२ गते शनिवार पाथीभरा क्षेत्रको बलुडाँडा क्षेत्रमा भएको झडपपछि मंगलवारबाट मेची राजमार्ग,तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकामा अनिश्चित कालिन यातायात बन्दको आह्वान भएको छ । मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति,पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ संघीय समिति, थरगत संस्था सहजीकरण समूह र किराँत धर्म तथा साहित्य उत्थान संघ,प्रदेश नं १ पुनःनामाङ्क संयुक्त संघर्ष समिति सहितका संस्थाहरुको पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्न नहुने पक्षमा लामो समय देखि संघर्षरत रहेका छन् ।