केबलकार निर्माण विवादलाई वार्ता र संवादमार्फत समाधान गर्नुपर्छ : भट्टराई
उज्यालो पोष्ट
काठमाडौं,माघ १६ । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकारका बारेमा १९ बुँदे धारणा सार्वजनिक गर्नु भएको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर सांसद भट्टराईले आफ्नो धारणा सार्वजनिक गर्नु भएको हो । संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रक्रिया पूरा गरेर पाथीभरा देवी मुकुम्लुङ केबलकार प्रालिले ताप्लेजुङमा अवस्थित पाथीभरामा केबलकार निर्माणको काम शुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ताप्लेजुङ जिल्लामा क्रियाशील राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधिहरू केबलकार बन्नु पर्छ भन्ने पक्षमा रहेका छन् । केबलकार निर्माणका पक्षले निर्माण कार्य अघि बढाउन थालेपछि यही माघ १२ गते निर्माण स्थलमा अप्रिय घटना पुग्यो ।
’ पाथीभरा क्षेत्र विकास समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत वर्ष करिब ३ लाख तीर्थालु र पर्यटकहरूले पाथीभरा भ्रमण गरेका थिए भने वर्षेनी यो संख्या उल्लेख्य मात्रामा वृद्धि हुँदै गएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको म सम्मान गर्दछु । त्यो शान्तिपूर्वक र सुसभ्य हुनु पर्दछ । समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनु पर्दछ । परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किनेखालका गतिविधिले कसैको हित गर्दैन । यसका लागि आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरू रिहा गर्न, घाइतेहरूको उपचारको व्यवस्था गर्न माग गदै अविलम्ब वार्ता गरी समस्यालाई समाधान गर्न माग गर्दछु ।
ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईले जिल्लाका सबै राजनीतिक दल र सबै तहका जनप्रतिनिधि केबलकार बन्नुपर्छ भन्ने पक्षमा रहेको प्रष्ट पार्दै त्यसबाट जिल्लाबासी र स्थानीय जनताले लाभ पाउनुपर्ने बताउनु भएको छ । उहाँले बाहिर प्रचार गरेजस्तो २५ हजार रुख काटिने हल्ला गलत रहेको बताउनु भएको छ । भट्टराईले केबलकार कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लाको विकास तथा स्थानीयको रोजगारीमा सहयोग गर्नुपर्ने बताउनु भएको छ । उहाँले केबलकार प्रभावित क्षेत्रका नागरिकलाई शुलभ शेयरको व्यवस्था गर्न र केबलकारको शुल्कमा ताप्लेजुङबासीलाई ५० प्रतिशत सहुलियत दिनुपर्ने पत्रकार सम्मेलनमा बताउनुभयो ।