स्थानीय पाठ्यक्रम संशोधन गर्दै आठराई त्रिबेणी,बार्षिक परीक्षा सुरु र नतिजा प्रकाशन पालिकाभरी एकैदिन
![](https://eujyalopost.com/ujyal0p0stnew5/wp-content/uploads/2025/01/babunandan.jpg)
खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १४ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तकलाई समयानुकूल परिमार्जन गर्ने भएको छ ।
गाउँपालिका शिक्षा समिति र पालिकाभरीका बिद्यालयहरुको प्रधानाध्यापकको बैठकले स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक समप सापेक्ष संशोधन तथा परिमार्जन गर्ने निर्णय गरेको आठराई त्रिबेणी गाउँपालिकाको शिक्षा शाखाका प्रमुख सुरेशकुमार पुरीले जानकारी दिनुभयो । त्यसका लागि पुरीको संयोजकत्वमा समिति बनेको छ । समितिमा गुप्तेश्वर माविका शिक्षक शंकर भट्टराई,शान्ति आधारभूत बिद्यालयका प्रअ जीवनकुमार चोङवाङ,सिरिजङ्गा आविका प्रअ बिना आङबुहाङ र परमसिंह देवी माविका प्रअ प्रवीन पोमू सदस्य रहनु भएको छ ।
आठराई त्रिबेणी गाउँपालिकाले अघिल्लो शैक्षिक सत्रदेखि नै कक्षा १ देखि ८ सम्म एकसय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम सुरु गरेको छ । पालिकाले कक्षा १ देखि ८ सम्म पढाई हुने गरी ‘आठराई त्रिबेणीको सेरोफेरो’कार्यान्वयनमा ल्याएको हो । गाउँपालिका शिक्षा समितिका अध्यक्ष समेत रहनु भएका पालिका अध्यक्ष दीपेन्द्र(दीपेन)पोमूले पालिका क्षेत्रको रहनसहन,जीवनशैली,दैनिक जीवनमा प्रयोग हुने बिषय र सन्दर्भ,पालिकाको वस्तुस्थिति बताउने बिषय पाठ्यक्रममा समेटिएको जानकारी दिनुभयो ।
बिद्यालयको आधारभूत तहबाटै पालिकाको बिषयमा बालबालिकालाई जानकारी गराई जीवन उपयोगी बनाउन स्थानीय पाठ्यक्रम सुरु गरिएको पालिकाले जनाएको छ । प्रयोगमा ल्याइएको स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तकलाई समय सापेक्ष परिमार्जन र संशोधनको आवश्यकता महशुष गरेर त्यसको तयारी गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । यस्तै पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डबाट जिल्ला स्तरीय प्रतियोगिताका लागि छनौट भएका खेलाडीलाई गाउँपालिकाले माघ १५ बाट बन्द प्रशिक्षणमा राख्ने भएको छ । बन्द प्रशिक्षणको समयमा लाग्ने सम्पूर्ण खर्च पालिका आफैंले व्यहोर्ने निर्णय लिएको छ ।
बन्द प्रशिक्षण अवधिको नेतृत्व चाँगे माविका शिक्षक देवीप्रसाद बरालले गर्नेगरी पालिकाले जिम्मेवारी दिएको छ । राष्ट्रपति रनिङ शिल्ड सहित समग्र खेलकुदको नेतृत्व पालिकाको सामाजिक विकास समितिका संयोजक एवम् वडा नं २ फुलवारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङले गर्ने हुनु भएको छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड माघ २७ गते देखि मैवाखोला गाउँपालिकाको साँघुमा सञ्चालन हुँदै छ । पालिकाले पालिकाका भित्रका सामुदायिक बिद्यालयहरुको बार्षिक परीक्षा एकरुपताका हिसावले आउँदो चैत १७ गते देखि २४ गते सम्म सञ्चालन गर्ने र नतिजा पालिकाभरी एकैदिन चैत ३१ गते प्रकाशन गर्ने निर्णय समेत गरेको छ ।
पालिका स्तरीय आधारभूत शिक्षा उर्तीण परीक्षा(कक्षा ८)को परिचालन,नियन्त्रण र अन्य कक्षाहरुको बार्षिक परीक्षा सञ्चालनका लागि पालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताको संयोजकत्वमा समिति बनाईएको छ । समितिमा दुर्गा मावि फुलवारीका शिक्षक देवेन्द्र सुबेदी,सरस्वती मावि हाङपाङका शिक्षक कोपिला रोक्का र चाँगे मावि चाँगेका शिक्षक हेमराज पौडेल सदस्य रहनु भएको छ । गाउँपालिकाको शिक्षा शाखाका प्रमुखलाई सदस्य सचिवको जिम्मेवारी दिईएको छ ।
पालिकाले शिक्षकहरुको बिरामी बिदा प्रमाणित सहितका बिषय टुङ्ग्याई पालिकाका प्रमुख प्रशासकीय अधिकृत समक्ष अवस्था सिफारिसका लागि पालिकाका प्रशासन शाखाका प्रमुख लीलाराज खड्काको संयोजकत्वमा दुर्गा मावि फुलवारीका प्रधानाध्यापक कुलप्रसाद भट्टराई सदस्य र पालिकाको शिक्षा शाखाका प्रमुख पुरी सदस्य सचिव रहेको समिति बनाएको छ ।