पाथीभरा केवलकार बिबाद:१२ राउण्ड अश्रु ग्याँस प्रहार,सुरक्षाकर्मी र आन्दोलनकारीतर्फ एक दर्जन घाइते

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ १२ । पाथीभरा क्षेत्रमा केवलकार निर्माणको बिरोध गरिरहेको समूह र सुरक्षाकर्मीबिच भएको घम्साघम्सीका क्रममा १२ राउण्ड अश्रु गाँस प्रहार भएको छ ।

केवलकार निर्माणको बिरोध गरिरहेको समूहका एक सदस्य डम्बर लाबुङले सुरक्षाकर्मीले २१ राउण्ड अश्रु गाँस प्रहार गरेको दावी गर्नु भएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार सो क्रममा तीनजना सशस्त्र प्रहरी कर्मचारी सहित ४ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार सशस्त्र प्रहरीका सहायक निरीक्षक सोमदेव यादव,सशस्त्र प्रहरी सहायक हवल्दार टीकाराम खवास र सशस्त्र प्रहरी जवान सञ्जिव बस्नेत तथा नेपाल प्रहरीका अनुज विक सामान्य घाइते हुनु भएको छ ।

केवलकार निर्माणको बिरोध गरिरहेको समूहतर्फ केन्द्रसिंह फुरुम्बो,जीतबहादुर केदेम,दीपेश मादेन,शसिहाङ पोमू,लकहादुर लिम्बू,राजन लिम्बू सहितका मानिस घाइते भएको पहिचानवादी नेता सरु सिघंकले जानकारी दिनुभयो । मुक्कुमलुङ संघर्ष समितिका संयोजक श्री लिङखिमले केवलकार खारेजीको पक्षमा आन्दोलनरत बिशाल श्रेङचोङवाङ समेत घाइते भएको बताउनुभयो । लिङखिमले सुरक्षाकर्मीले गोलीनै प्रहार गरेको दावी गर्नुभयो । प्रमुख जिल्ला अधिकारी शर्माले गोली प्रहार नभएको र सुरक्षाकर्मीकातर्फबाट अश्रु ग्याँस मात्र प्रहार भएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार पाथीभरा क्षेत्रको बलुडाँडा आसपासमा घरेलु हतियार सहितको समूह बसेको थाह पाएपछि गस्तिमा गएको सुरक्षाकर्मीको टोलीले घरेलु हतियार नियन्त्रणमा लिने प्रयास गर्दा सुरक्षाकर्मी र केवलकार निर्माणको बिरोध गरिरहेको समूहबिच घम्साघम्सी भएको थियो । सुरक्षाकर्मीले आन्दोलनरत पक्षबाट तीनथान खुकुरी र ग्याटिस सहितका सामाग्री नियन्त्रण लिएको जनाएको छ । सो क्रममा स्थिति तनावपूर्ण बनेपछि सुरक्षाकर्मीले अश्रु ग्याँस प्रहार गरेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।‘युद्धको मानसिकता सहित घरेलु हतियार र लाठीमुङ्गीसहित भेला भएका समूहबाट घरेलु हतियार नियन्त्रण गर्ने क्रममा उक्त अवस्था आएको हो’प्रजिअ शर्माले भन्नुभयो । उहाँका अनुसार अहिले त्यहाँको अवस्था सामान्य रहेको छ ।

यसैबिच प्रमुख जिल्ला अधिकारी शर्माले केवलकार निर्माणको बिरोध गरिरहेका समूहका एकजना नेताले ‘सिडिओ बिरुद्ध युद्धको घोषणा भयो’भनेर अस्लिल र अपमानजनक ढंगले गालीगलौज गरेको बताउँदै आफु यस्ता बिषयबाट कुनै बिचलनमा नपरेको बताउनुभयो । उहाँले आफु सुरक्षा चुनौतिको मुकाबिला तथा सहजीकरणका लागि सरकारले खटाएको प्रतिनिधि भएकोले कुनै संकोच नमानी जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रतिबद्ध रहेको दावी गर्नुभयो ।‘यस्ता बिषयलाई सुरक्षा थ्रेटको रुपमा लिन जरुरी छैन,नीति नियमका आधारमा सुरक्षा व्यवस्था मजवुत बनाउने कुरामा लाग्ने हो’प्रजिअ शर्माले भन्नुभयो । उहाँले शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने समेत प्रतिबद्धता जनाउनुभयो ।

जिल्ला प्रहरी प्रमुख(डिएसपी)रवि रावलले तीर्थयात्रीलाई कुनै सुरक्षा चुनौति नहोस् भनेर पाथीभरा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको टोलीले सुरक्षाको भरपूर बन्दोबस्ति गरी गन्तव्यतर्फ पठाउने कार्यमा सहजीकरण गरिरहेको जानकारी दिनुभयो । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकाल अध्यक्ष रहेको पाथीभरा(मुक्कुमलुङ)दर्शन केवलकार प्रालिले पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्न लागेको हो । केवलकारको स्थानीय पूर्वाधार निर्माणका लागि जिम्मेवारी पाएको हिमालयन् कन्ट्रक्सन प्रालिले केवलकारको बेस स्टेशन निर्माणका लागि जमिन सम्याउने कार्य थालनी गरेपछि केवलकार खारेजीको पक्षमा रहेकाहरु अहिले पाथीभरा क्षेत्र केन्द्रित भएका छन् । (फायल फोटो)

 

Similar Posts