केन्द्रीकृत सूचना व्यवस्थापन प्रणालीमार्फत नागरिकता प्रदान गर्न ताप्लेजुङ प्रशासन कार्यालयले थाल्यो पहल

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २८ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले वडाबाटै केन्द्रीकृत नेपाली नागरिकताको सूचना व्यवस्थापन प्रणालीमार्फत सिफारिस भई आएको विवरणका आधारमा नागरिकता दिन सकिने बताउनु भएको छ ।

वडाबाट अनलाइन प्रविधिद्धारा भरिएको पूर्ण विवरणका आधारमा जिल्ला प्रशासन कार्यालयले नागरिकता बितरण गर्न सक्ने प्रकृयाबारे प्रजिअ शर्माले पालिकास्तरमा छलफल थाल्नु भएको छ । मिक्वाखोला गाउँपालिकाको वडा नं २ खोक्लिङमा आयोजित नागरिक सुनुवाई कार्यक्रमार्फत उहाँले केन्द्रीकृत नेपाली नागरिकताको सूचना व्यवस्थापन प्रणालीमार्फत नागरिकता बितरण प्रकृया सुरु गर्न सकिने बताउनुभयो । यसका लागि सबै स्थानीय तहका प्रमुखसंग प्रजिअ शर्माले छलफल गर्ने योजना बनाउनु भएको छ ।

मिक्वाखोला पुगेका बेला उहाँले पालिका अध्यक्ष भक्तबहादुर कार्की,उपाध्यक्ष डण्डु लामा शेर्पा,प्रमुख प्रशासकीय अधिकृत बिमल गौतम र वडा नं २ का वडाध्यक्ष झरेन्द्रप्रसाद थापासंग यस्तो आग्रह गर्नु भएको हो । प्रजिअ शर्माले यसका लागि यहाँका पालिकाका प्रमुखसंग छलफल गरी सम्वन्धित पञ्जीकरण अधिकारीलाई अनुशिक्षणको व्यवस्था गर्ने बारे जानकारी गराउने योजना बनाएको जानकारी दिनुभयो ।

केन्द्रीकृत नेपाली नागरिकताको सूचना व्यवस्थापन प्रणाली अन्तरगत नागरिकता लिनेव्यक्तिका लागि आवश्यक पर्ने अनुसूची,समावेश गर्नुपर्ने महत्वपूर्ण कागजातसहितको सिफारिस वडा कार्यालयबाट प्रणालीमा ‘अपलोड’ हुने छ । त्यसपछि वडाबाट स्वीकृत भएपछि प्राप्त पिन र सिफारिस फाइल लिएर आएपछि प्रशासनबाट नागरिकता प्रदान गर्न सकिने व्यवस्था रहेको छ ।

यस प्रणालीमार्फत नागरिकता जारी गर्दा सेवाप्रदायकलाई सेवा प्रदान गर्न र सेवाग्राहीलाई सेवा लिन सहज हुने प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । स्थानीय वडाबाटै विवरण भरिने भएकाले नागरिकताको विवरणमा हुने विभिन्न खाले त्रुटिगत समस्याका धेरै हदसम्म समाधान हुने विश्वास अनुमान गरिएको छ ।

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts