तोक्मेमा निर्माण भएको धान नाच प्रतिमाको अनावरण
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २५ । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित तोक्मेमा निर्माण भएको धान नाच प्रतिमा (ताक्वाजङ याःसक्मादेन )को अनावरण गरिएको छ ।
किरात याक्थुङ चुम्लुङ इजरायलको आर्थिक सहयोगमा निर्मित धान नाच प्रतिमाको बिहीबार याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम यक्तेनले अनावरण गर्नु भएको छ । लिम्बू जातिको ऐतिहासिक र साँस्कृकि परम्परालाई जीवन्त बनाई राख्न धान नाच प्रतिमा निर्माण भएको निर्माण समितिले जनाएको छ । स्थानीय कीर्तिमान मादेनको संयोजत्वमा निर्माण समिति बनेको थियो । प्रतिमामा दुई महिला र दुई पुरुषले धान नाच नाचिरहेको संकेत देखाईएको छ । काँसको धान नाच प्रतिमा बनाउन राष्ट्रिय तथा अनुभवी मूर्तिकार पूर्ण वनेमसहित ४ जना कालिगढ खटिनु भएको थियो ।
५ फिट उचाइको पिलरमा रहेको प्रतिमामा पुरुषको ६ दशमलव ५ फिट उचाई र र महिलाको ६ फिट उचाइ राखिएको छ । धान नाचको प्रतिमाको पृष्ठभूमीमा कुम्भकर्ण हिमाल(फक्ताङलुङ) र पाथीभरा डाँडा (मुक्कुमलुङ)सहितको आकृति कोरिएको छ । ताप्लेजुङ सदरमुकाम नजिक घुमफिरका लागि समेत रमणीय हुनेगरी उक्त धान नाच प्रतिमा निर्माण भएको निर्माण समितिले जनाएको छ ।
निर्माणका लागि सहयोग रकमको व्यवस्थापन गर्ने किरात याक्थुङ चुम्लुङ इजरायललाई निर्माण समितिले धन्यवाद समेत दिएको छ । धाननाच नेपालको पूर्वी पहाडी जिल्लामा बसोबास गर्ने लिम्बू जातिले नाच्ने परम्परागत नाच हो । यो साँस्कृतिक पहिचान अर्थात् मौलिक साँस्कृतिक पहिचान बोकेको एक प्रकारको नाचको रुपमा परिचित रहेको छ । पालम गाउँदै धान नाच नाचिन्छ ।