मिक्वाखोलाको सार्वजनिक सुनुवाई : स्वास्थ्य बीमा देखि जलवायु परिवर्तनको असर न्यूनीकरणको बिषय उठ्यो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस १८ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनवाईका क्रममा सेवाग्राहीले स्वास्थ्यबीमा देखि जलवायु परिवर्तनले पारेको असर न्यूनीकरणका लागि पालिकाले चालेका प्रयास सम्मका सवाल उठाएका छन् ।

मिक्वाखोला गाउँपालिकाले जनताको राय,सल्लाह तथा गुनासो ग्रहण गरेको वडागत रुपमा आयोजना गरेको सार्वजनिक सुनुवाईका क्रममा सेवाग्राहीले उक्त सवाल उठाएका हुन् । बुधवार हिजो मिक्वाखोला गाउँपालिकाको वडा नं ५ पापुङ र आज बिहीबार वडा नं ४ साँवामा पालिकाले सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । पापुङका सेवाग्राहीले स्वास्थ्य बीमाको प्रभावकारिता देखि सडक स्तरोन्नती सम्मका सवाल उठाएका छन् । सेवाग्राहीहरुले बिद्यालय भवन निर्माणको पूर्णता,उन्नत जातको तरकारी बालीको बीउ प्राप्तिका प्रकृया,बौद्ध गुम्बा व्यवस्थापन,बिद्यालयको भौतिक पूर्वाधार निर्माण,टोल विकास संस्थाको लेखा परीक्षण प्रकृया र खानेपानीका सवाल उठाएका थिए ।

पापुङको कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की,उपाध्यक्ष डण्डु लामा शेर्पा,प्रमुख प्रशासकीय अधिकृत बिमल गौतम,वडाध्यक्ष ग्याञ्जे शेर्पा तथा पालिकाका बिषयगत शाखाका प्रमुखहरुले सेवाग्राहीले उठाएका सवालको जवाफ दिनु भएको थियो । यता बिहीबार वडा नं ४ साँवामा भएको कार्यक्रममा सेवाग्राहीले जलवायु परिवर्तनले असर न्यूनीकरणका लागि पालिकाले अवलम्बन गर्ने नीति,पालिकामार्फत पूरा भएका भएका योजना बाहेक आगामी दिनमा चाल्ने कदमका बारेमा जिज्ञासा राखेका थिए । साँवाको कार्यक्रममा गाउँपालिका अध्यक्ष कार्की,उपाध्यक्ष लामा शेर्पा,प्रमुख प्रशासकीय अधिकृत गौतम,वडाध्यक्ष सदनकुमार साँवा तथा पालिकाका बिषयगत शाखाका प्रमुखहरुले सेवाग्राहीले उठाएका सवालको जवाफ दिनु भएको थियो ।

पालिकाले पालिका क्षेत्रका ५ वटै वडाहरुमा पुगेर सेवाग्राहीको सुझाव,राय तथा गुनासो ग्रहण गर्ने कार्यक्रम तय गरेको जनाएको छ । मिक्वाखोला गाउँपालिका अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार कार्यक्रम अनुसार पुस १९ गते शुक्रवार मिक्वाखोला गाउँपालिका वडा नं ३ लिवाङमा सार्वजनिक सुनुवाई हुने छ । पुस २० गते जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय समेतको सार्वजनिक सुनुवाई हुने गरी वडा नं २ खोक्लिङमा तथा २१ गते आइतवार वडा नं १ खोक्लिङमा सार्वजनिक सुनुवाई कार्यक्रम हुने तय भएको गाउँपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts