शैक्षिक तथा खेलकुद गतिविधि सुधारमा आठराई त्रिबेणी : निर्देशिका कार्यान्वयन सम्वन्धी अन्तरकृया सम्पन्न
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस १४ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शैक्षिक तथा खेलकुद अनुदान निर्देशिका कार्यान्वयन सम्वन्धी एकदिने अन्तरकृया आइतवार सम्पन्न गरेको छ ।
सार्वजनिक शिक्षा सुधारका लागि हरेक महिना प्रधानाध्यापकहरुको बैठकमार्फत समस्या पहिचान तथा समाधानका उपायहरु अवलम्बन गर्दै आएको आठराई त्रिबेणीले शिक्षा तथा खेलकुद कार्यक्रमलाई थप व्यवस्थित गर्न शैक्षिक तथा खेलकुद अनुदान निर्देशिकालाई प्रभावकारी कार्यान्वयनको नीति अख्तियार गर्ने जनाएको छ । गाउँ शिक्षा समितिका अध्यक्ष एवम् गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले पालिकाको शिक्षा क्षेत्रको विकास र सम्मुनतीका लागि अनुदान निर्देशिका बनाएर त्यसको सफल कार्यान्वयनका लागि सरोकारवालाको राय समेत ग्रहण गर्न कार्यक्रम आयोजना भएको जानकारी दिनुभयो । सो गाउँ पालिकाले पालिकाभरीका बिद्यालयहरुलाई अनुदान दिने,पालिका भरीका शिक्षकलाई अघिल्लो बर्षको माघ महिनाबाटै मासिक रुपमा तलवभत्ता खुवाउने कार्य गर्दै आएको छ । पालिकाले पालिकाभरीका बिद्यालयका प्रधानाध्यापकहरुलाई पालिकाकोतर्फबाट थप भत्ता समेतको प्रवन्ध गरेको छ ।
गत आर्थिक बर्षको अन्त्यतिर पालिकाले एकदिने शैक्षिक सम्मेलन गर्दै पालिकाको सार्वजनिक शिक्षा सुधारका लागि घोषणापत्र समेत जारी गरेको थियो । पालिकाले सार्वजनिक शिक्षा सुधारका लागि आवश्यक पर्ने नीति बनाउने र सोहि अनुसार कार्यान्वयन गर्ने काम समेत गर्दै आएको छ । शिक्षा र खेलकुदलाई थप व्यवस्थित गरी पालिकाको समग्र सामाजिक सुधारमा योगदान दिन शैक्षिक तथा खेलकुद अनुदान निर्देशिका कार्यान्वयन सम्वन्धी निर्देशिका जारी भएको र त्यसको कार्यान्वयनको सुझाव लिन सरोकारवाला समेतलाई सहभागी गराईएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले जानकारी दिनुभयो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई, तेह्रथुमको फेदाप गाउँपालिका शिक्षा अधिकृत श्रीप्रसाद ढकाल,पालिकाका ५ वटै वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य,गाउँ शिक्षा समितिसदस्य,पालिकाभरीका सामुदायिक विद्यालयका बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापक,बिद्यालयको लेखा शाखाका कर्मचारी सहितको उपस्थिति रहेको आठराई त्रिबेणी गाउँपालिकाले जनाएको छ ।