कञ्चनजंघा आरोहणको ७० बर्ष पुगेको अवसरमा आउँदो बैशाख पहिलो साता हिरक महोत्सव मनाईने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस १४ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजंघा(८,५८६ मिटर)आरोहणको ७० बर्ष पुगेको अवसरमा कञ्चनजंघा हिरक महोत्सव आयोजना हुने भएको छ ।

कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले आइतवार पत्रकार सम्मेलनमार्फत २०८२ साल बैशाख ५–७ गते सम्म ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको वडा नं ६ लेलेपमा हिरक महोत्सव सञ्चालन गर्ने जानकारी दिएको हो । लेलेपमा कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को मुख्य कार्यालय रहेको छ । परिषद्का सदस्य सचिव मनकुमार राईका अनुसार कञ्चनजंघा संरक्षण क्षेत्रमा रहेका पर्यटयिक क्षेत्रहरुको प्रचार–प्रसार,पदयात्राका लागि आवह्वान,स्थानीय समुदायको संस्कार र संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम,स्थानीय उत्पादनको प्रवद्र्धन र संस्कार र संस्कृतिमा आधारित स्थानीय समुदायका खाद्य परिकारको प्रवद्र्धन सहितका कार्यक्रम सञ्चालन गरी हिरक महोत्सव मनाइने छ ।

महोत्सवका बेला भलिबल प्रतियोगिता समेत सञ्चालन हुने छ । उक्त प्रतियोगिता अन्तर पालिका स्तरीय वा आमन्त्रित कस्तो प्रकृतिको हुने भन्ने बारेमा पनि निर्णयमा पुग्न बाँकी रहेको छ । लेलेपमा हुने कार्यक्रममा कञ्चनजंघा हिमालको सफल आरोहण गरेका व्यक्ति र र आरोहण गरेका व्यक्ति जीवित नभएको अवस्थामा आरोहणकर्ता सदस्यका परिवारलाई समेत आमन्त्रण गर्ने योजना रहेको छ ।

कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूका अनुसार लेलेपमा सम्पन्न हुने तीनदिने हिरक महोत्सवका कार्यक्रम पछि संघीय राजधानी काठमाडौंमा राष्ट्रिय तहको कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ । समृद्ध पहाड परियोजनाको समन्वयमा उक्त कार्यक्रमको प्रस्ताव अघि सारिएको संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अन्र्तगत समृद्ध पहाड परियोजनाका कार्यक्रम संयोजक चित्राकुमारी चंसु लिम्बूले बेलायतमा समेत हिरक महोत्सव अन्तरगतको कार्यक्रम हुनेगरी प्रकृया अघि बढेको जानकारी दिनुभयो ।‘ठ्याक्कै मिति निर्धारण भएको छैन,तर आउँदो जुन ५ तारेखमा बेलायतमा समेत हिरक महोत्सवको कार्यक्रम हुनेगरी प्रस्ताव गरिएको छ’उहाँले भन्नुभयो ।

हिरक महोत्सवको कार्यक्रमका लागि ७२ लाख ६१ हजार रुपैयाँको अनुमानित लागत प्रस्ताव गरिएको छ । कञ्चनजंघा हिमाल सहित कञ्चनजंघा संरक्षण क्षेत्र भित्र रहेका पर्यटकिय सम्पदाहरुको प्रचार–प्रसार र प्रवद्र्धनलाई मुख्य आधार मानेर कार्यक्रम अघि सारिएको संरक्षण क्षेत्र व्यवथापन परिषद्ले जनाएको छ । कञ्चनजंघा हिमाल,कञ्चनजंघा हिमाल आरोहणको महत्व र बिशेषता झल्काउन पनि उक्त कार्यक्रमले सहयोगी भूमिका निर्वाह गर्ने आयोजकको बुझाई छ । आरोहण गरेका व्यक्तिहरुका अनुभव समेत आदान–प्रदान हुने कार्यक्रम त्यसैका लागि राखिएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ ।

कार्यक्रममा फक्ताङलुङ गाउँपालिका वडा नं ७ का वडाध्यक्ष तथा कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पूर्व सदस्य सचिव छेतेन वालुङ शेर्पाले ताप्लेजुङको उत्तरी क्षेत्र पर्यापर्यटनको बलियो सम्भावना बोकेको क्षेत्र भएकोले बाह्यसंगै आन्तरिक पर्यटनलाई समेत ध्यानमा राखी कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो । उहाँले फक्ताङलुङ गाउँपालिका र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्बिचमा कुनै मतभेद नरहेको दावी गर्नुभयो । पालिका र परिषद्बिच बिभिन्न कार्यक्रमहरुका सवालमा बेलाबखत मतभेद रहेको कुरा आउने गरेकोमा वडाध्यक्ष शेर्पाले त्यसको खण्डन गर्दै दुबै निकाय आ–आफ्नो कानुनी आधारमा चल्दा समस्या नहुने तर्क गर्नु भएको हो ।

कार्यक्रममा कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत प्रमोदकुमार यादव,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य,कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सदस्य छिरिङ लामा सहितले महोत्सवको बिषयमा आ–आफ्ना कुरा राख्नु भएको थियो । सन् १९५५ मे २५ तारेखका दिन कञ्चनजंघाको पहिलो पटक सफल आरोहण भएको थियो । बेलायती नागरिक जर्ज ब्याण्ड र जो ब्राउनले कञ्चनजंघाको पहिलो पटक सफल आरोहण गरेको मानिन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts