ताप्लेजुङ आउने बिदेशी पर्यटकको संख्यामा बृद्धि,पहिलो सिजनको मंसिर भित्रै आए करिव ९ सय बिदेशी पर्यटक
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस १४ । ताप्लेजुङ आउने बिदेशी पर्यटकको संख्यामा बर्सेनि बृद्धि हुँदै गएको पाइएको छ ।
कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत प्रमोदकुमार यादवका अनुसार पछिल्ला ५ बर्षको तथ्याङ्क नियाल्ने हो भने हरेक बर्ष बिदेशी पर्यटकको आगमनमा बृद्धि हुँदै गएको हो । यादवका अनुसार आर्थिक बर्ष २०७६।७७ को एकबर्षे अवधिमा ६ सय ८ जना बिदेशी पर्यटक ताप्लेजुङ आएका थिए । कोरोना संक्रमणको मुख्य अवधि आव २०७८।७९ मा यहाँ आउने बिदेशी पर्यटकको संख्या २ सय ६ जनामा सिमित भएको थियो । आव २०७९।८० मा बढेर यहाँ आउने बिदेशी पर्यटकको संख्या ७ सय १३ पुगेको थियो । कोरोना संक्रमण शान्त भएपछि यहाँ आउने बिदेशी पर्यटकको संख्यामा बर्सेनि बृद्धि हुँदै गइरहेको संरक्षण अधिकृत यादवले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०८०।८१ मा १ हजार ८५ जना बिदेशी पर्यटक ताप्लेजुङमा आए ।
चालू आव २०८१।८२ को मंसिर सम्मको तथ्याङ्क अनुसार यहाँ आउने बिदेशी पर्यटकको संख्या ८ सय ७७ पुगेको छ । यो पहिलो सिजनकै अवधिमा उक्त संख्याका बिदेशी पर्यटक आउनु निकै सकारात्मक रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले ठम्याएको छ । पर्यटन व्यवसायीहरुका अनुसार पर्यटनका लागि मुख्य दुई सिजन उपयुक्त मानिन्छन् । चैत,वैशाख,जेठ,भदौ,असोज, कात्तिक र मंसिर महिनामा विदेशी पर्यटक पदयात्राका लागि आउने गरेका छन् । आरोहण भने सबैभन्दा बढी वैशाख र जेठमा हुने गरेको पाइएको छ । असार र साउनमा वर्षा तथा पुस, माघ र फागुनमा हिउँका कारण यो अवधिमा विदेशी पर्यटकको आवागमन कम हुने गर्छ ।
कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले सिजनको पहिलो अवधिमै उत्साहजनक रुपमा बिदेशी पर्यटक ताप्लेजुङ आएको जानकारी दिनुभयो । आर्थिक बर्षलाई आधार मानेर हेर्दा बिदेशी पर्यटकका लागि चैत,वैशाख र जेठलाई दोस्रो तथा भदौ,असोज, कात्तिक र मंसिरसम्मको अवधिलाई पहिलो सिजनको रुपमा हेर्ने गरिएको छ । पहिलो सिजनमै बिदेशी पर्यटकहरुको उत्साहजनक उपस्थितिले ताप्लेजुङका पर्यटन व्यवसायीहरुलाई हौस्याएको छ । ताप्लेजुङ आउने पर्यटक सबैभन्दा बढी कञ्चनजंघा हिमाल जान केन्द्रित हुने गरेको पर्यटन व्यवसायीहरू बताउँछन् । आठ हजार पाँच सय ८६ मिटर अग्लो कञ्चनजंघा विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल हो ।
कञ्चनजंघा जान तीन वटा पदमार्ग प्रयोग हुँदै आएको छ । सदरमुकाम फुङलिङबाट फक्ताङलुङ गाउँपालिकामा पर्ने सिँवा–छिरुवा–तापेथोक–घुन्सा हुँदै जान सकिन्छ । तापेथोकसम्म सवारीमा जान सकिन्छ भने त्यसउताको भागमा पैदलयात्रा गर्नुपर्छ । कञ्चनजंघा जाने अर्को पदमाग भनेको सुकेटार हुँदै सिरिजंघा गाउँपालिकाको सिकैचा–तेल्लोकको माथिल्लो भाग–पेदाङ, फुम्पेडाँडा–मामाङ्खे हुँदै याम्फुदिन भएर पुग्न सकिन्छ । तेस्रो पदमार्ग भनेको पाँचथरको गणेशचोक–दाहालगाउँ–सिनाम–आम्बेगुदिन–हप्पुखोला–खेवाङ हुँदै याम्फुदिनसम्म जान सकिन्छ । हिउँद याममा याम्फुदिनसम्मै सवारीमा यात्रा गर्न सकिन्छ ।