मान्यता नपाएका व्यक्तिलाई उपचार सेवामा संलग्न नगराउन अनुगमन समितिको निर्देशन

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस १२ । अनुगमन समितिले सम्वन्धित निकायबाट मान्यता नपाएका व्यक्तिलाई उपचार गर्ने गराउने कार्यमा संलग्न नगराउन ताप्लेजुङका मेडिकल,पोलियो क्लिनिक तथा डेन्टलहरुलाई निर्देशन दिएको छ ।
स्वास्थ्य कार्यालय ताप्लेजुङको संयोजनमा सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्का सहितको टोलीले फुङलिङमा सञ्चालित मेडिकल हलहरुको अनुगमन गर्दै यस्तो निर्देशन दिएको हो । अनुगमन संयोजक तथा स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख कूलबहादुर पौडेलले फुङलिङका ६ वटा मेडिकल,पोलियो क्लिनिक तथा डेन्टल क्लिनिकहरुको अनुगमन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा लाइफलाइन होमियो फार्मेसी तथा क्लिनिक प्रालि,एपोलो मेडिकल,पुजा मेडिकल हल,मानव डेन्टल क्लिनिक,कावेली फार्मेसी र चौधरी मेडिकल हलको अनुगमन गरिएको छ । अनुगमनलाई निरन्तरता दिने समेत पौडेलले बताउनुभयो ।
पहिलो चरणको अनुगमनका क्रममा केहि क्लिनिकहरुमा उपचार गर्ने गराउने कार्यमा संलग्न व्यक्ति आधिकारिक निकायबाट मान्यता प्राप्त नदेखिएकोले मान्यता नपाएका व्यक्तिलाई उपचारमा संलग्न नहुन निर्देशन गरिएको समेत अनुगमन संयोजक पौडेलले बताउनुभयो । लाइफलाइन होमियो फार्मेसी तथा क्लिनिक प्रालिमा यस्तो समस्या देखिएको पौडेलको भनाई छ । केहि मेडिकलहरुले परिवार नियोजनका साधनको बिक्री र प्रयोग बारेको प्रतिबेदन सम्वन्धित निकायमा बुझाउनुपर्नेमा सो नबुझाएको,मेडिकल हलमा देखिएको बिर्सजनयोग्य फोहोर व्यवस्थापन मापदण्ड अनुसार नभएको,कतिपय मेडिकलहलहरु दर्ताका सबै प्रकृया पूरा नभएको देखिएकोले तत्काल सम्वन्धित समस्या सुधार गर्न निर्देशन दिईएको समेत अनुगमन टोलीले बताएको छ ।
अनुगमनका क्रममा केहि मेडिकल हलहरुले सबै मापदण्ड र प्रकृया पूरा गरेको देखिएकोले यो कार्यलाई निरन्तरता दिन सुझाव दिईएको समेत अनुगमन संयोजक पौडेलले बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी खड्काले अनुगमनका क्रममा कैफियत देखिएका मेडिकलहरुलाई समस्या सुल्झाउन अनुगमन समितिले निश्चित समय प्रदान गरेको र अबको अनुगमनका क्रममा अहिले देखिएका त्रुटी सच्चिने विश्वास व्यक्त गर्नुभयो । उहाँले अनुगमन कार्यलाई निरन्तरता दिन अनुगमन कार्यतालिका बनाई प्रभावकारी कार्यान्वयन गर्ने योजना रहेको समेत सुनाउनुभयो ।