पालिकाभरीका फुसको छानो बिस्थापन गर्ने आठराई त्रिबेणीको योजना,कर्कटपाता माग गर्न आवह्वान

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस ११ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले गाउँपालिकाभरी रहेका फुसको छाना बिस्थापन गर्ने भएको छ । फुसको छाना बिस्थापन गर्न उसले कर्कटपाता उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाले फुसको छाना बिस्थापन गरी कर्कटपाता लगाउन इच्छुक पालिकाभरीका नागरिकलाई कर्कटपाता प्राप्तिका लागि आबेदन गर्न आवह्वान समेत गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताका अनुसार पालिकाका नागरिकले सम्वन्धित वडा कार्यालयमार्फत कर्कटपाता माग गर्न सक्नेछन् । त्यसका आबेदनकर्ताले लागि फुसको छाना देखिने घरको रंगिन फोटो,घर भएको जग्गाधनीको धनीपूर्जाको फोटोकपी वा भूमिहिन दलित तथा सुकुम्बासीको हकमा वडा कार्यालयको सिफारिस,गरिव घरधुरीको परिचयपत्र प्राप्त गरेको भए सोको प्रतिलिपि र गरिवीको रेखामुनि रहेको प्रमाणित भएको सम्वन्धित वडाको सिफारिस पत्र संलग्न गर्नुपर्ने हुन्छ ।
आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले गत असार १० गते पालिकाभरी रहेका फुसको छानो बिस्थापन गर्नेगरी चालू आर्थिक बर्ष २०८१।८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष पोमूले गाउँसभा अधिबेशनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई पालिकाले कार्यान्वयन गर्न थालेको छ । आठराई त्रिबेणी गाउँपालिकाले पालिकाभरीका घरायसी प्रयोजनमा प्रयोग भएको बिद्युत महशुलको शुल्क समेत निःशुल्क गर्दै आइरहेको छ । पालिका अध्यक्ष पोमूले पदभार ग्रहण गरेको दिन पालिकाभरीका नागरिकले घरायसी प्रयोजनमा प्रयोग भएको बिद्युतको महशुल पालिकाले तिर्ने घोषणा गर्नु भएको थियो ।