रिड नेपालद्धारा ताप्लेजुङको दुर्गम क्षेत्रका ७ बिद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रबृत्ति प्रदान
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस १० । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड)नेपालले ताप्लेजुङको फक्ताङलुङ र सिरिजङ्गा गाउँपालिकाका ७ जना बिद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रबृत्ति प्रदान गरेको छ ।
रिड नेपाल ताप्लेजुङका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्रप्रसाद पन्तका अनुसार बिभिन्न संकायमा अध्ययनरत ७ जना बिद्यार्थीलाई ७ लाख ६८ हजार रुपैयाँ छात्रबृत्ति प्रदान गरिएको हो । पन्तका अनुसार तीनबर्षे प्राविधिक शिक्षातर्फ सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनका सृष्टी राई र फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकका अर्जुन लिम्बूले छात्रबृत्ति पाउनु भएको छ । यस्तै दुईबर्षे विज्ञान संकायतर्फ फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपका निश्मा शेर्पा र सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङका पेटिसा दाहाललाई छात्रबृत्ति प्रदान गरिएको छ ।
दुईबर्षे शिक्षा–मानविकी र व्यवस्थापन संकायतर्फ फक्ताङलुङ गाउँपालिका वडा नं ४ इखाबुका बन्दना लिम्बू र सोनी लिम्बू तथा सिरिजङ्गा गाउँपालिका वडा नं ६ मामाङ्खेका वृन्दा मावो लिम्बूले छात्रबृत्ति पाउनु भएको रिड नेपालले जनाएको छ । विगत १२ बर्षदेखि छात्रबृत्ति प्रदान गरिरहेको रिड नेपालले अहिले सम्म ९४ जना बिद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रबृत्ति प्रदान गरिसकेको जनाएको छ । जिल्ला कार्यक्रम प्रवन्धक पन्तका अनुसार छात्रबृत्तिका लागि मात्र रिड नेपालले ८२ लाख २४ हजार ५६ रुपैयाँ लगानी गरिसकेको छ । छात्रबृत्ति प्राप्त गरेका बिद्यार्थीहरुले उच्च शिक्षा अध्ययन पश्चात आफ्नो क्षेत्रमा रहेका बिद्यालय,सरकारी निकाय वा समुदायमा कम्तिमा २ महिना स्वयंसेवा गर्न समेत अनुरोध गरेको छ ।
छात्रबृत्ति प्राप्त गरेका मध्ये अधिकाँस रोजगारीमा संलग्न भएको पाईएको र छात्रबृत्तिको प्रभावकारिता बृद्धि भएपछि देखेपछि रिड नेपाललाई छात्रबृत्तिको कोटा बढाउन दबाब समेत परेको छ । जिल्ला कार्यक्रम प्रवन्ध पन्तले छात्रबृत्तिको कोटा बृद्धिका लागि सरोकारवाला निकायबाट पटक–पटक अनुरोध आएको स्वीकार्दै यसका बिषयमा छलफल चलिरहेको जानकारी दिनुभयो । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजंघा(८,५८६ मिटर) हिमालका प्रथम आरोही जर्ज बैण्डको सम्झनामा यस्तो प्रकृतिको छात्रबृत्ति प्रदान हुने गरेको छ ।
हिमालयन् ट्रष्ट युकेको आर्थिक सहयोगमा रिड नेपालले विगत १६ बर्षदेखि ताप्लेजुङको उत्तरी हिमाली क्षेत्रमा शैक्षिक अभियान सञ्चालन गरिरहेको छ । सिरिजङ्गा गाउँपालिकाको वडा नं ६ मामाङ्खे,वडा नं ७ खेवाङ र वडा नं ८ याम्फुदिन तथा फक्ताङलुङ गाउँपालिकाको वडा नं ७ ओलाङचुङगोला,वडा नं ६ लेलेप,वडा नं ५ तापेथोक र वडा नं ४ इखाबु रिडका मुख्य कार्यक्षेत्र हुन् । कार्यक्षेत्र भित्र गुणस्तरीय शिक्षाका क्रियाकलाप अन्तरगत बिद्यालय भवन निर्माण तथा प्रवलीकरण, शैक्षिक सामग्रीमा सहयोग,विज्ञान प्रयोगशाला,पुस्तकालय व्यवस्थापन,स्वच्छव पिउने पानीको व्यवस्थापन,शौचालय निर्माण,शिक्षक तालिम तथा समुदाय अभिमुखीकरण सहितका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।