उत्कृष्ट खेलाडी छनौट गर्न फक्ताङलुङले पुरुष लिग फुटबल गर्दै,खेल तालिका सार्वजनिक

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ५ । उत्कृष्ट खेलाडीलाई गाउँपालिकाको फुटबल टोलीमा समावेश गर्नेगरी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले पालिका वडा स्तरीय पुरुष फुटबल लिग प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
पुस ८ देखि १० गते सम्म हुने प्रथम फक्ताङलुङ गाउँपालिका वडा स्तरीय पुरुष फुटबल लिग प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक भएको छ । पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)का अनुसार समूह ‘ए’मा सावादिन,इखाबु र तापेथोक तथा समूह ‘बी’मा खेजेनिम,लिङखिम र लेलेप रहेका छन् । लिग चरणको पहिलो खेलमा पुस ८ गते सावादिनका बिरुद्ध इखाबु तथा खेजेनिम बिरुद्ध लिङखिम भिड्ने छन् । पुस ९ गते खेजेनिम बिरुद्ध लेलप आमनेसामने हुँदा तापेथोकको भीडन्त इखाबुसंग हुने छ ।
पुस १० गते नकाउट चरणका खेल सुरु हुनेछन् । नकाउट चरणमा समूह ‘ए’को बिजेता बिरुद्ध समूह ‘बी’को उपबिजेता तथा समूह ‘ए’को उपबिजेताबिरुद्ध समूह ‘बी’को बिजेता मैदानमा उत्रने छन् । दुबै टोलीका बिजेता टिम फाइनलमा उपाधिका लागि भिड्नेछन् । प्रत्येक टोलीमा ९ जना खेलाडी तथा ३ जना अतिरिक्त खेलाडी समावेश हुनुुपर्ने र प्रशिक्षक तथा व्यवस्थापक समेत गरी एक टोलीमा १४ जना मात्र समावेश हुनुपर्ने नियम बनाईएको छ । खेलाडी सम्वन्धित वडाभित्रको मात्र हुनुपर्ने गाउँपालिकाको नियम रहेको छ ।