फुङलिङको हाङदेवाका सामुदायिक बिद्यालयका बिद्यार्थीलाई ट्रयाक सुट र ज्याकेट बितरण
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस ३ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवामा रहेका सम्पूर्ण सामुदायिक बिद्यालयहरुका बिद्यार्थीलाई ट्रयाक सुट र ज्याकेट बितरण हुने भएको छ । जनता मावि हाङदेवाबाट बितरण कार्यक्रम सुरु भएको छ ।
सोवरस् एक्सन हङकङमार्फत ट्रयाक सुट र ज्याकेट बितरण हुने भएको हो । प्रतिनिधिसभा सदस्य लिलादेवी बोखिम,फुङलिङ नगरप्रमुख अमिर मादेन,उपप्रमुख भीमादेवी ओझा,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद गुरुङ सहितको उपस्थितिमा ट्रयाक सुट र ज्याकेट बितरण कार्यक्रम सुरु भएको छ ।
कार्यक्रममा सोवरस् एक्सन हङकङ नेपालका प्रतिनिधिहरु,जनता मावि बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवम् बिद्यालयका प्रधानाध्यापक र अभिभावकहरुको समेत उपस्थिति रहेको थियो । ‘हामी सबै मिलेर समाजलाई परिचालन गरी अध्ययनलाई न्यानो दिन सक्छौं,ताकी तिनीहरुले न्यानोसंग आफ्नो अध्ययन जारी राख्न सकुन्’भन्ने नारा दिएर सोवरस् एक्सनले ट्रयाक सुट र ज्याकेट बितरण कार्यक्रम राखेको छ ।