फक्ताङलुङ गाउँपालिकाले तत्काल शिक्षकहरुको मासिक तलवभत्ता निकासा नगर्नेे,बैठकमा नआउनेलाई जरीवाना !
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ३ । जनशक्तिको अभाव तथा सञ्चयकोष दाखिलामा समस्या हुने देखाउँदै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले शिक्षकहरुको तलवभत्ता तत्काल मासिक रुपमा निकासा गर्न नसक्ने ठहर गरेको छ ।
गाउँ शिक्षा समितिको संयोजनमा पालिकाका ४० वटै बिद्यालयका प्रधानाध्यापकहरुको बैठकबाट त्रैमासिक रुपमै शिक्षकको तलवत्ता निकासा गर्ने निर्णय भएको पालिकाका सूचना अधिकारी जयप्रसाद रिजालले जानकारी दिनुभयो । निर्णय अनुसार अब गाउँपालिकाले आयोजना गरेका कार्यक्रममा लिखित जानकारी बिना अनुपस्थित हुने बिद्यालयले लिखित स्पटीकरण सहित प्रतिपटक १ हजार ५ सय रुपैयाँका दरले जरीवाना तिर्नुपर्ने भएको छ ।
पालिकाका ९ वटा माध्यमिक बिद्यालयलाई ‘लिडर स्कुल’तोकी लिडर स्कुल मातहत रहने बिद्यालय समेत निर्धारण गरिएको छ । जसअनुसार रविकला मावि सावादिन मातहत गणेश आधारभूत बिद्यालय,जनता आधारभूत र नाक्ला आधारभूत बिद्यालय रहने छन् । खेजेनिम आधारभूत बिद्यालय मातहत चावाखु आवि,तुलसी आवि र तिङ्दुु वाल विकास केन्द्र रहने छन् । आर्दश माध्यमिक बिद्यालय मातहत हिमाली आवि,मनकामना आवि र सिबु आवि तथा सिँवा माध्यमिक बिद्यालय मातहत लिङखिममा रहेका अन्य सबै बिद्यालय रहने छन् । सेवालुङ मावि मातहत चन्द्रोदय आवि,रानी र फक्ताङलुङ आवि रहने छन् । यस्तै सुनदेवी मावि लिडर स्कुल रहेकोमा सो मातहत बिपुधाम र जनता आधारभूत बिद्यालय रहने छन् । सरस्वती मावि तापेथोक मातहत महेन्द्र र देउराली पाथीभरा आवि रहने छन् । पार्वती मावि मातहत कञ्चनजंघा,यासाङ र सोत्लिमा आधारभूत बिद्यालय रहने छन् । सरस्वती च्यारिबुक मावि लेलेप मातहत घुन्सा,महेन्द्र र देउराली आधारभूत बिद्यालय बाहेक वडा नं ६ का सबै बिद्यालय रहने भएका छन् ।
लिडर स्कुलले मातहतका बिद्यालयको अभिलेखीकरण,ईमिसमा सहयोग,आफ्नो समूह भित्रको परीक्षामा एकरुपता,अन्तर समूह अतिरिक्त क्रियाकलाप,आवश्यकता अनुसारका सापेक्ष समस्या समाधान र आवश्यकता अनुसार शैक्षिक अनुगमन तथा पृष्ठपोषणको जिम्मेवारी प्रदान गरिएको छ । फक्ताङलुङ गाउँपालिकाले २०८१ सालको पालिका स्तरीय रनिङ शिल्ड पुस २४ गते देखि सरस्वती मावि तापेथोकमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ । पालिकाले कक्षा ८ माथि सञ्चालित बिद्यालयका प्रधानाध्यापकहरुको भेलामार्फत कोचिङ कक्षा सञ्चालनका लागि अनुदान दिने निर्णय समेत गरेको छ । निर्णय अनुसार पालिकाका सम्पूर्ण माविहरुलाई १ लाख ५० हजार रुपैयाँका दरले र कक्षा ८ सञ्चालित बिद्यालयलाई १ लाख रुपैयाँका दरले अनुदान दिने भएको छ । ह्युमन प्राटिक्स फाउण्डेसनको कार्यक्रम क्षेत्र नभएका पार्वती मावि तापेथोक र सेवालुङ मावि इखाबुलाई दुई लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने निर्णय समेत पालिकाको शिक्षा समितिले गरेको छ ।
कक्षा ६ देखि १० सम्मका बिद्यार्थीका लागि माघ र फागुन महिनामा अंग्रेजी,गणित र विज्ञान बिषयको कोचिङ कक्षा सञ्चालन गर्ने निर्णय समेत भएको छ । गाउँपालिकाले कक्षा ८ को बार्षिक परीक्षा पालिका स्तरीय र केन्द्रिकृत रुपमा सञ्चालन गर्नेगरी सिँवा मावि लिङखिम र सरस्वती मावि तापेथोकमा केन्द्र रहने गरी निर्णय समेत लिएको छ । गाउँपालिकाले होम सेन्टर रहने बिद्यालयहरुको सेन्टर क्रस गर्ने र अति विपन्न बिद्यार्थीको हकमा सम्वन्भित वडाको सिफारिसमा नामावली सार्वजनिक गरी परीक्षा सञ्चालन अवधिभर खानेबस्ने व्यवस्था गाउँपालिकाले गर्ने भएको छ । कक्षा ५ को बार्षिक परीक्षा समेत लिडर बिद्यालय मातहत सञ्चालन गर्ने र प्रश्नपत्रमा भने एकरुपता ल्याउने निर्णय गाउँ शिक्षा समितिले गरेको छ । केन्द्रीय बिद्युत प्रसारण लाइन जडान भएका बिद्यालयहरुको मासिक बिद्युत महशुल गाउँपालिकाले तिरिदिने भएको छ ।