पाथीभरा क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न आवश्यक पहल अघि बढाईने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस १ । पाथीभरा क्षेत्र विकास समितिले पूर्वकै पवित्र तीर्थस्थल पाथीभरा क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न आवश्यक पहल अघि बढाउने भएको छ ।
क्षेत्र विकास समितिको बैठकले पाथीभरा मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न आवश्यक प्रकृया अघि बढाउन पहल गर्ने निर्णय लिएको क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो । विश्व सम्पदा सूचीमा सूचिकृत हुन सक्ने सम्भाव्य क्षेत्र र पर्याप्त बिशेषता भएकोले पाथीभरा क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेशको गर्ने प्रकृयाका लागि पहल अघि बढाइने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जनाउनुभयो ।
जानकारहरुका अनुसार विश्व सम्पदा सूचीमा अटाउन त्यो ठाउँ अनुपम र अद्वितीय हुनुपर्छ । त्यहाँ मानव र प्रकृतिले सिर्जेका कलात्मक वस्तु वा संरचना हुनुपर्छ । सांस्कृतिक सम्पदा छ भने त्यो सम्पदा कुन कालखण्डमा निर्माण भएको हो भन्ने कुरालाई बढी ख्याल राखिन्छ । भाषा, संस्कृति र मानव सभ्यतालाई त्यो ठाउँले झल्काएको छ भने पनि त्यसलाई मुख्य आधार मानिन्छ । त्यो ठाउँले मानव सभ्यता र इतिहासलाई उजागर गरेको तथा दुरुस्तै देखिने र मौलिकता बोकेका सभ्यतासहितका भवन र संरचना हुनुपर्छ समेत भएको क्षेत्रलाई सूचिकृतको आधार बनाइने गरेको छ । विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने निकाय युनेस्कोले विश्व सम्पदा सूचीमा अटाउनका लागि सांस्कृतिक र प्राकृतिक आधार समेत खोज्ने गरेको छ ।
पाथीभरा क्षेत्र विकास समितिका सदस्य तथा फुङलिङ नगरप्रमुख अमिर मादेनले पाथीभरा क्षेत्र विश्व सम्पदा सूचीमा समावेश हुन सक्ने बिशेषताले भरिपूर्ण भएकोले सूचिकृतका लागि पहल अघि बढाउनु सकारात्मक भएको बताउँनुहुन्छ । पाथीभरा क्षेत्र धार्मिक,सांस्कृतिक,पुरातात्विक,ऐतिहासिक महत्व भएको क्षेत्र भएकोले समितिले विश्व सम्पदा सूचीमा समावेश गर्न चाहिने आवश्यक प्रकृया अघि बढाउने निश्कर्ष लिएको क्षेत्र विकास समितिले बताएको छ । तर कुनै ठाउँ वा क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्ने प्रक्रिया लामो र झन्झटिलो हुने तथा विवरण पठाएको चार वर्षपछि मात्रै विश्व सम्पदामा राख्ने वा नराख्ने निर्णय युनेस्कोले गर्ने गरेका छ ।
पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रका लागि आवश्यक पर्ने गुरुयोजना समेतको कामलाई अघि बढाउने भएको छ । यसका लागि यसअघि तयार भएका गुरुयोजनाको खोजी गरी पुरातत्वविद् र बिशेषज्ञ प्राविधिकहरुको परार्मश समेत लिई नयाँ गुरुयोजनाको प्रारुप तयार पार्ने योजना अघि बढाईएको छ । यस्तै देवीको धाममा सञ्चालन गरिने नित्य पूजामा समावेश हुने पुजारी,पूजा सामग्री व्यवस्थापन,सरसफाई कर्मचारी तथा मन्दिर क्षेत्र व्यवस्थापन सहितका कार्यका लागि बृहत्त अक्षयकोष सञ्चालनका लागि कार्यविधि समेत अघि बढाउने पाथीभरा क्षेत्र विकास समितिको तयारी रहेको छ ।