सिरिजङ्गा गोल्डकपको उपाधि बद्ररहुड एफसीलाई

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २९ । ब्रदरहुड फुटबल क्लव उदयपुरले ताप्लेजुङको तेल्लोकमा सम्पन्न चौथो अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको उपाधि जितेको छ ।
मरिक फुटबल क्लव सुनसरीलाई सडनडेथमा पराजित गर्दै ब्रदरहुड च्याम्पिन बनेको हो । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरतर्फ गएको थियो । टाइब्रेकर ५–५ को बराबरी हुँदा खेल सडनडेथमा गयो । सडनडेथमा बद्ररहुडका गोलरक्षक सौरभ बराल नायक ठहरिनुभयो । उहाँले मरिक फुटबल क्लवका पूर्ण चेम्जोङको प्रहारलाई गोल हुन दिनु भएन र आफ्नो टिमलाई जीतमा पु¥याउनुभयो । बद्ररहुडले उपाधिसंगै नगद २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ सिरिजङ्गासिंह थेबेको प्रतिमा भएको ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ । उपबिजेता बनेको मरिक फुटबल क्लवले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ पाएको छ ।
निर्धारित समयमा खेलको सुरुआती अग्रता पनि बद्ररहुडले लिएको थियो । बद्ररहुडका आकास राईले खेल सुरु भएको केहि समयमै गोलको खाता खोल्नु भएको थियो । आकासको गोलमार्फत अघि बढेको बद्ररहुडका बिरुद्ध निवष फुयाँलले जवाफी गोल फर्काउँदै मरिकलाई बराबरीको स्थितिमा ल्याउनुभयो । मरिकका लागि निश्चल लामाले हेडरमार्फत उत्कृष्ट फिनिसिङ गर्दै अग्रता २–१ को अवस्थामा पु¥याउनु भएको थियो । तर त्यो अग्रता लामो समय रहेन । बद्ररहुडका लागि आकास राईले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई पुनःबराबरीमा ल्याउँदा निर्धारित समय सकियो र खेल टाइब्रेकरतर्फ धकेलियो । अन्ततःखेलको निर्णय सडनडेथमार्फत भयो । प्रतियोगिता मंसिर २३ गतेबाट सुरु भएको थियो ।