कखरा सिकेको बिद्यालयमा अक्षयकोष स्थापना

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर २९ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ का एक गुरुङ परिवारले आफ्ना बुबा–आमाको सम्झनामा आफुले कखरा सिकेको बिद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
स्वर्गीय बुबा बलबहादुर गुरुङ र आमा उमादेवी गुरुङको स्मृतिका उहाँका छोराछोरी र परिवारजन मिलेर फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवास्थित पाथीभरा आधारभूत बिद्यालयमा ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरिदिएको सो वडाका वडाध्यक्ष लक्षुमण गुरुङले जानकारी दिनुभयो । शैक्षिक उत्प्रेरणा अभिबृद्धिका लागि स्थापना भएको सो अक्षयकोषबाट बिद्यालयका जेहेन्दार र लगनशिल बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिने भएको छ ।
स्वर्गीय बलबहादुर र उमादेवीका छोरा सूर्यमान,काजीमान,रामकुमार र शुशिल तथा बुहारीहरु र छोरी मूना,छूना,सृजना र शशी गुरुङबाट सो अक्षयकोष स्थापना गरिदिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । अक्षयकोष स्थापनाका मुख्य अगुवा सूर्यमान गुरुङ उहाँका परिवार हाल बेलायतमा बसोबास गर्दै आउनु भएको छ । साँवा अक्षर(क…ख..ग)चिनेको बिद्यालयको शैक्षिक उन्नयनमा टेवा पु¥याउन उक्त अक्षयकोष स्थापना गरिदिएको सूर्यमानले जानकारी दिनुभयो ।