ऐतिहासिक पुसे मेलाका लागि मेरिङदेनले दियो दुईदिन बिदा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २९ । दोभानमा ५१ बर्ष देखि लाग्दै पुसे मेलाका लागि ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले दुईदिन सार्वजनिक बिदा दिएको छ ।
स्थानीय र ऐतिहासिक पर्वका लागि पुस ३ र ४ गते गरी दुईदिन स्थानीय बिदा दिने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उदयकुमार यादवले जानकारी दिनुभयो । उक्त दुईदिन पालिका मातहतका सरकारी कार्यालय,बिद्यालय तथा संघसंस्थाहरुमा (आकस्मिक सेवा बाहेक) बिदा दिएको गाउँपालिकाले जनाएको छ । मेरिङदेन गाउँपालिकाको दोभान बजारमा पुस १ देखि ५ गते सम्म पुसेमेला लाग्दै छ ।
पुसे मेलामा अन्तर्राष्ट्रिय आमन्त्रण तथा अन्तर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुनेछ । पुसे मेला सञ्चालन समितिका अध्यक्ष हेम चोङ्बाङले अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएसँगै प्रतियोगितामाा सहभागी हुने टोलीको पनि टुङ्गो लागेको जानकारी दिनुभयो । उहाँकाअनुसार भारतको सिक्किमसहित भोजपुर, झापा, संखुवासभा, पाँचथर र ताप्लेजुङका दुईसमेत ७ टोली सहभागी हुने भएका छन् ।
प्रतियोगिताका विजेताले ट्रफीसहित तीन लाख रुपैयाँ र उपविजेताले एक लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउने समितिले जनाएको छ । यस्तै पुसेमेलामा ब्याडमिन्टन प्रतियोगिता, साइकलिङ,¥याफ्टिङ लगायतका गतिविधि हुने समितिका सचिव सुजन सामेखामले जानकारी दिए । पुसे मेलाकै बेला हुने साँस्कृतिक कार्यक्रममा राजु लामा,दयाहाङ राई लगायतको उपस्थितिमा सांगीतिक कार्यक्रम हुने पनि समेत उहाँले बताउनुभयो ।