उदयपुरको बद्ररहुड एफसी बन्यो सिरिजङ्गा गोल्डकपको सेमीफाइनल पुग्ने दोस्रो टोली
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २४ । उदयपुरको बद्ररहुड फुटबल क्लव चौथो अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको सेमीफाइनल पुग्ने दोस्रो टोली बनेको छ ।
सोमवार भएको दोस्रो क्वाटर फाइनल खेलमा झापाको न्यू स्टार फुटबल क्लवलाई २–१ ले पराजित गर्दै बद्ररहुड फुटबल क्लवले सेमीफाइनलमा स्थान बनाएको हो । बद्ररहुडले न्यू स्टारसंग तेस्रो सिरिजङ्गा गोल्डकपमा सेमीफाईनलमा पराजित भएको बदला समेत लिएको छ । न्यू स्टारले तेस्रो सिरिजङ्गा गोल्डकपको सेमीफाईनलमा बद्ररहुडलाई हराएर फाइनलमा स्थान बनाएको थियो । बिजयी टिमका लागि मध्यान्तर अघि कप्तान सञ्जय श्रेष्ठ र मध्यान्तर पछि आकाश राईले गोल गरेका थिए । न्यू स्टारका लागि खेल समाप्त हुनु अघि हेडरमार्फत डानियलले उत्कृष्ट गोल गर्दै खेललाई फर्काउने कोशिस गरेका थिए । तर न्यू स्टारले थप अवसर गुमायो । चौथो अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपका क्वाटर फाइनलबाटै घर फर्किएको न्यू स्टार तेस्रो संस्करणमा उपबिजेता बनेको थियो ।
बद्ररहुडमा कार्लोस र न्यू स्टारमा डानियल बिदेशी खेलाडी थिए । कार्लोस र डानियल संगै पिटर र अरमानले भानुजन मावि फुङलिङमा सम्पन्न दोस्रो कञ्चनजंघा(सेसेलुङ)गोल्डकप समेत खेलेका थिए । आइतवार भएको पहिलो क्वाटर फाइनलमा साँघुरीगढी फुटबल क्लव धनकुटालाई २–१ ले पराजित गर्दै आयोजक तेल्लोक स्पोर्टिङ क्लव सेमीफाईनल पुगिसकेको छ । २९ गते सकिने प्रतियोगिताको बिजेताले नगद २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ सिरिजङ्गासिंह थेबेको प्रतिमा भएको ट्रफी,मेडल र प्रमाणपत्र पाउँदा उपबिजेताले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन् । मंगलवार हुने तेस्रो क्वाटर फाइनल खेलमा मरिक फुटबल क्लव सुनसरीका बिरुद्ध भारतको पारिजात संघ फुबटल क्लव मैदानमा उत्रने छ ।