पछिल्लो ७ बर्षमा १३ लाख बढीले गरे ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शन

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २४ । पछिल्लो ७ बर्षमा ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा १३ लाख भन्दा बढी दर्शनार्थी आएका छन् । यो चालू आव २०८१।८२ को तथ्याङ्क बाहेकको संख्या हो ।

पाथीभरा क्षेत्र विकास समितिले आर्थिक बर्ष २०७४।७५ देखि आव २०८०।८१ सम्ममा पाथीभरा आएका दर्शनार्थीको तथ्याङ्क सार्वजनिक गरेको हो । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार ७ बर्षको उक्त अवधिमा १३ लाख ३ हजार ४ सय ९२ जना दर्शनार्थी मन्दिरमा आएका छन् । क्षेत्र विकास समितिको तथ्याङ्क अनुसार पछिल्लो ७ बर्षमध्ये सबैभन्दा बढी दर्शनार्थी आव २०७९।८० मा आएका थिए । उक्त आवमा २ लाख ८३ हजार ९ सय ४५ जना दर्शनार्थी आएका थिए । यस्तै आव २०८०।८१ मा २ लाख ३१ हजार ३ सय ३४ जना दर्शनार्थी आएका थिए । यस्तै आव २०७७।७८ मा २ लाख १७ हजार ९ सय ६१ जना र आव २०७८।७९ मा २ लाख ४ हजार २ सय ८४ जना दर्शनार्थी आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

७ बर्ष भित्रमा सबैभन्दा कम दर्शनार्थी आव २०७५।७६ मा १ लाख १ हजार ६ सय ५ जना आएका थिए । आव २०७६।७७ मा १ लाख २ हजार ८ सय ७६ जना र आव २०७४।७५ मा १ लाख ६१ हजार ४ सय ८७ जना दर्शनार्थी पाथीभरा मन्दिर आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । चालू आवको कात्तिक महिनामा मात्रै ६१ हजार १ सय ७३ जनाले पाथीभराको मन्दिर दर्शन गरेका थिए । असोज महिनामा भने ५ हजार ९ सय ४९ जनाले मन्दिरको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

३,७९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिर पुग्न धरान–माझीटार हुँदै तमोर करिडोर वा झापाको बिर्तामोडबाट इलाम–पाँचथर हुँदै मेची राजमार्ग प्रयोग गर्न सकिन्छ । मेची राजमार्ग अन्तर्गत सुकेटारसम्म पक्की सडक छ भने त्यसपछिको काफ्लेपाटीसम्म कच्ची सडक छ । काफ्लेपाटीदेखि पाथीभरा पुग्न पाँच किलोमिटर पैदल यात्रा गर्नुपर्छ । हाल पैदल मार्गलाई थप व्यवस्थित बनाउन विभिन्न स्थानमा पानी र हिउँबाट बच्ने फाइबर छाना राखिएका छन् । यद्यपि काफ्लेपाटीसम्म फाइबर छाना ओढाउने योजना भने पूरा भएको छैन ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts