पाथीभरा मन्दिरका पुराना घण्टी लिलामी प्रकृया हाललाई स्थगित
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २१ । पाथीभरा क्षेत्र विकास समितिले पुराना घण्टीको लिलामी बिक्री प्रकृया स्थगन गरेको छ ।
क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले घण्टी लिलाम बिक्री सम्वन्धी सूचना हाललाई स्थगित गरिएको एक प्रेस विज्ञप्तिमार्फत जानकारी गराउनु भएको छ । क्षेत्र विकास समितिले शुक्रवार जारी गरेको विज्ञप्तिमा पाथीभराप्रति भक्तिभाव भएका सरोकारवाला,बद्धिजीवि,भक्तजन र समुदायको सुझावको आधारमा पुनारा घण्टी लिलामी बिक्री सम्वन्धी प्रकृया स्थगन भएको उल्लेख गरेको छ ।
लिलाम बिक्री सम्वन्धी थप निर्णय आगामी बस्ने समितिको बैठकबाट गर्ने समेत पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरा क्षेत्र विकास समितिले मन्दिरमा रहेका पुराना,प्रयोगमा नआउने र टुटेफुटेका १६ हजार ३ सय ७८ किलो १ सय ग्राम घण्टी लिलाम बिक्री गर्ने भन्दै प्रतिकिलो न्यूनतम् मूल्य ३ सय ८० रुपैयाँ कायम गरेर यही मंसिर १४ गते सार्वजनिक सूचना आवह्वान गरेको थियो ।