मैवाखोला पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि मैवाखोला माविलाई

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १९ । ताप्लेजुङको मैवाखोला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मैवाखोला मावि तेम्बे प्रथम भएको छ ।

नारायणी मावि साँघु द्धितीय तथा महेन्द्र मावि फाकुम्बा तृतीय भएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । बिजयी बिद्यालय तथा खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष वनेम सहितले शिल्ड तथा पुरस्कार प्रदान गर्नु भएको छ । मैवाखोला गाउँपालिकाले मंसिर १६ गते देखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गरेको थियो । जिल्ला खेलकुद विकास समितिले पुस मसान्त सम्ममा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सक्न जिल्लाका ९ वटै पालिकालाई अनुरोधपत्र पठाएकोमा मैवाखोलाले भने मंसिर दोस्रो सातामै पालिका स्तरीय प्रतियोगिता सकेको छ ।

मैवाखोला गाउँपालिकाले खेलका ५ बिधाका प्रशिक्षकलाई अधिकृत स्तरको तलवभत्ता दिएर सेवा करार गरेको छ । गाउँपालिकाले मैवाखोला माविलाई पालिका स्तरीय नमूना बिद्यालयको रुपमा विकास गरेको छ । संघीय सर्शत अनुदानबाट भने नारायणी मावि साँघु नमूना माविको रुपमा विकास गरिदैं आएको छ । नारायणी माविलाई स्तरबृद्धि गरी स्नातक तहको पढाई हुने गरी पूर्वाञ्चल विश्व विद्यालयबाट सम्वन्धन लिने तयारी समेत भइरहेको छ ।

मैवाखोला माविका पूर्व बिद्यार्थीहरुबाट रकम संकलन गरी खेल मैदान निर्माणका लागि खरिद गरिएको जग्गामा मैवाखोला गाउँपालिकाले पालिकाको बजेट लगाएर खेल मैदान निर्माण गरेको छ । यही नवनिर्मित खेल मैदानमा यसपटक मैवाखोला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गरिएको हो । यसबर्षको राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगिता पनि मैवाखोला गाउँपालिकामै हुँदै छ । अघिल्लो बर्षको राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगिता आठराई त्रिबेणी गाउँपालिकामा आयोजना भएको थियो ।

 

 

 

Similar Posts