नतिजामा सुधार आउँदै गरेको ताप्लेजुङको दुर्गम क्षेत्रको एक बिद्यालय,जहाँ कर्णाली देखि मधेससम्मका बिद्यार्थी पढ्छन्
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १२ । हिमालयन् ट्रष्ट युकेका उपाध्यक्ष जोन वाल्टनले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकमा रहेको सरस्वती माध्यमिक बिद्यालय परिसरमा पुग्दा बेग्लै अनुभूत गर्नुभयो । ठ्याक्कै १०ः०० बज्दा बिद्यालयको मूल प्रवेशद्धार बन्द भयो । एकै पोशाकमा सजिएका बिद्यार्थी लाइनमा बसे । हरेक बिद्यालयहरुमा हुने प्रार्थनाभन्दा उक्त बिद्यालयमा फरक थियो । ब्रेन्जिमको समय पनि छ ।‘मेरी आमाले मिठो खाना दिनुहुन्छ,मेरो बुबाले काखमा लिई माया दिनुहुन्छ’ब्रेन्जिम गीतमा बोलिएका शब्दले बालबच्चा र परिवारको सामिप्यता मात्र दर्शाउँदैन,बिद्यार्थीको दैनिक सिकाईमा समेत प्रेरित गर्ने रहेछ’ हिमालयन् ट्रष्ट युकेका ट्रष्टी टिम्टीले भन्नुभयो । ब्रेन्जिमको धुनसंगै कक्षाकोठामा बस्दा बिद्यार्थीमा पढाईमा उत्साह र शिक्षकमा सिकाईप्रतिको भावना प्रेरित हुने टिम्टीको अनुभव छ । टिम्टी बेलायतको सरकारी बिद्यालयका सेवानिवृत्त प्रधानाध्यापक हुनुहुन्छ । वाल्टन सहायक प्रअबाट सेवानिवृत्त हुनु भएको हो ।
प्रार्थना समयमा राष्ट्रिय गीत पछि हरेक बिद्यार्थी पालैपालो बोल्न थाल्छन् । बिद्यार्थीको बोल्ने पालो दिनैपच्छिे परिवर्तन हुन्छ । बिद्यालय,पढाई,सिकाई,शिक्षक,बिद्यार्थी र अभिभावकको भूमिका बारे प्रत्येकदिन बिद्यार्थीले आफ्ना अनुभव राख्छन् ।‘यसले बिद्यार्थीमा वाककलाको विकास मात्र नभई सरोकारवालाको भूमिका समेत प्रष्ट्याउने रहेछ’रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्रप्रसाद पन्तले भन्नुभयो । रिड नेपाल विगत १७ बर्षदेखि ताप्लेजुङका हिमाली क्षेत्रका बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधार तथा पूर्वाधार विकासमा क्रियाशिल रहेको निकाय हो । हिमालयन् ट्रष्ट युकेले रिड नेपाललाई आर्थिक सहयोग गरेको छ ।
बिद्यार्थीको वाककला प्रस्तुतिको अर्को सन्दर्भ पनि छ । सो बिद्यालयको अनुगमनका लागि बिद्यालयमा हरेक दिन कम्तिमा एकजना अभिभावक आउनैपर्ने नियम छ । बिद्यालयका प्रधानाध्यापक चन्द्रमणि सुब्बा केदेम आफुले प्रअको जिम्मेवारी सम्हालेयता बिद्यालयको सुपरीवेक्षणमा प्रत्येक दिन कम्तिमा एकजना अभिभावकलाई निम्त्याउने गरेको बताउनुभयो । अभिभावकले बिद्यालय आएर कक्षाकोठा मात्र हेर्दैनन्,बिद्यालयको पढाई,शिक्षक र बिद्यार्थीको पढाईप्रतिको लगाव समेत हेरेर सुझाव समेत राख्ने गरेका छन् । अभिभावकबाट प्राप्त सुझाव ग्रहणका लागि बिद्यालयले सुझाव पुस्तिका राखेको छ । उक्त पुस्तिकामा लेखिएका बिषय बिद्यालय व्यवस्थापन समितिको मासिक रुपमा हुने नियमित बैठकमा छलफल हुन्छ । बिव्यस अध्यक्ष दीपक लिम्बूका अनुसार अभिभावकले दिएका सुझावका आधारमा शैक्षिक सुधारका लागि योजना बनाउने र कार्यान्वयन गर्ने गरिन्छ ।
प्रार्थना समय सकिएपछि बिद्यार्थीको पहिलो काम कोठा सफाई गर्नु हुने छ । आफु पढ्ने कक्षा बिद्यार्थीले सफा र सुन्दर बनाएका छन् । बिद्यार्थी सुमन विकका अनुसार आफ्नो कक्षाकोठा आफैं सफा गर्ने र साबुनपानीले हातमुख धोएर कक्षा छिर्ने बिद्यार्थीको बानी नै भइसकेको छ । यो अवधिमा शिक्षकले कक्षाकोठामा आवश्यक पर्ने शैक्षिक सामग्रीको तयार गरिसक्नुहुन्छ । अनि सुरु हुन्छ बिदालय दैनिकी ।‘बिद्यालयको नियम बोर्डिङ स्कुल भन्दा कडा छ’शिक्षक निरु केदेमले भन्नुभयो । बिद्यार्थीले कसरी सिकाईमा रुची देखाउँछन्,त्यसरी सिकाउने र बिद्यालय समयलाई राम्रो ख्याल गर्ने बानी बिद्यालयमा नियम नै भएको शिक्षक मित्र दाहालले बताउनुभयो । प्रधानाध्यापक केदेमले सिकाई समयलाई खेल फालेर फाल्तु बिषयमा ध्यान दिन मनाही गरिएको जानकारी दिनुभयो ।
२ सय ६० बिद्यार्थी नियमित अध्ययन गर्ने उक्त बिद्यालयमा देखिदैं आएको प्रगतिले शैक्षिक नतिजा सुधार हुँदै आएको पुष्टी हुन थालेको छ । गाउँपालिकाकै नेतृत्वकर्ता बिद्यालय मानिएको लिङखिमको सिँवा पछि गत बर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई)मा उक्त बिद्यालयकै सबैभन्दा राम्रो नतिजा रहेको प्रअ सुब्बाले बताउनुभयो । बिद्यालयको शैक्षिक वातावरणमा प्रभावकारी सुधार आएपछि त्यहाँ कार्यरत शिक्षकले आफ्ना नानी समेत आफुले अध्यापन गराउँदै गरेको बिद्यालयमा केन्द्रित गरेका छन् । कर्णाली प्रदेशको दैलेखका हेमराज देवकोटादेखि मधेस प्रदेशको सप्तरीका धमेन्द्रकुमार राम सम्मले आफ्ना नानीहरु सरस्वती माविमै पढाउन थाल्नु भएको छ । शिक्षक मित्र दाहाल र रामचन्द्र लिम्बू,शिक्षिका शुशिला मेन्याङ्वो परा र निरु केदेम सहितका नानीहरु उनीहरुले पढाउने बिद्यालयमै पढ्छन् ।
वाल विकास शिक्षक र कार्यालय सहयोगी समेत त्यहाँ १३ जना शिक्षक कर्मचारी छन् । प्रस्तावित माविको पींडा खेपिरहेको उक्त बिद्यालयमा मावि दरबन्दी छैन । मावि अनुदानका लागि सरकारले दिने रकमबाट शिक्षकको व्यवस्थापन गरिएको बिद्यालयले जनाएको छ । रिड नेपालका शिक्षा विकास अधिकृत रोमा मावो लिम्बू सरस्वती माविको सुधारिएको शैक्षिक वातावरणप्रति गर्व लागेको बताउँनुहुन्छ ।‘शान्त शैक्षिक वातावरण,सफा र शैक्षिक सामग्रीले भरिएको कक्षाकोठा,शिक्षक र बिद्यार्थीको पढाईप्रतिको लगनशिलता,अभिभावकको बिद्यालयप्रतिको रुची र सहयोग,अनुशासनमा प्रतिबद्ध बिद्यालय,समयको ख्याल र प्रभावकारी शिक्षक सिकाईले मोहित बनाएको छ’रिडका जिल्ला प्रवन्धक पन्तले भन्नुभयो । पन्त र उहाँ आवद्ध संस्था रिड नेपालको मेहनेतले उक्त बिद्यालय शैक्षिक सुधारमा परिवर्तनको मार्गप्रसस्त गरेको बेलायती नागरिक टिम्टी बताउनुभयो ।‘बिद्यालय प्रशासन र अभिभावकको मेहनेत भने बिर्सनु हुँदैन’पन्त आफैंले भनें बिद्यालय सुधारको श्रेय स्थानीय समुदायलाई नै दिनु भएको छ ।