|

जिल्ला अदालतको नियमित सुनुवाइसम्बन्धी काम प्रभावित

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर १२ । ताप्लेजुङ जिल्ला अदालतबाट प्रवाह हुने नियमित सुनुवाई लगायतका सेवा प्रभावित भएको छ । यही मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका कारण जिल्ला अदालतले गर्ने नियमित लगायतका सेवा प्रभावित भएको हो ।
जिल्लाको सिरिजंघा गाउँपालिका–३ सिकैँचामा रिक्त रहेको वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । उक्त उपनिर्वाचन गराउनलाई जिल्ला न्यायाधीस विकास श्रेष्ठ मुख्य निर्वाचन अधिकृत भएर जानुपर्ने भएपछि अदालतको सेवा प्रभावित बनेको हो । हाल जिल्ला न्यायाधीसको उपस्थितिमा हुने नियमित सुनुवाई लगायतका सेवा प्रभावित बनेको जिल्ला अदालतका सूचना अधिकारी विष्णुकुमार राईले बताउनुभयो ।
राईका अनुसार न्यायाधीसको प्रत्यक्ष उपस्थितिमा हुने मुद्दाको फैसला, कोर्ट म्यारिज (अदालती विवाह), सम्बन्ध विच्छेद र मिलापत्रसम्बन्धी सेवा अहिले ठप्प भएको छ । यस्तै न्यायाधीस नहुँदा मृत्युको न्यायिक घोषणा र अधिकृत वारेससम्बन्धी सेवा प्रभावित भएको छ । जिल्ला न्यायाधीसको प्रत्यक्ष उपस्थितिमा हुनुपर्ने बाहेकका सेवा प्रवाह भने नियमित भइरहेको सूचना अधिकारी राईले जानकारी दिनुभयो ।
उपनिर्वाचन हुने क्षेत्रमा निर्वाचन गराउन सरकारले जिल्ला न्यायाधीसलाई खटाएपछि जिल्ला अदालतबाट हुने सुनुवाइसम्बन्धी सेवा प्रभावित भएको नेपाल बार एशोसिएसन ताप्लेजुङका अध्यक्ष बलराम भट्टराईले बताउनुभयो । उहाँका अनुसार अदालतमा न्यायाधीस अनुपस्थित रहँदा मिलापत्रसम्बन्धी सेवा लिन चाहाने सेवाग्राही बढी प्रभावित बनेका छन् ।
त्यस्तै नेपाल बार एशोसिएसनका जिल्ला सचिव ठाकुर साम्सोहाङले पनि एकजना मात्र न्यायाधीस अर्थात जिल्ला न्यायाधीस रहने जिल्ला भएकाले सुनुवाई लगायतका सेवा प्रभावित बन्न पुगेको हो । जिल्ला न्यायाधीस नहुँदा अहिले जिल्ला अदालत सुनसानजस्तै बनेको अधिवक्ता साम्सोहाङले बताउनुभयो । गत कात्तिक ३० गते उपनिर्वाचन हुने स्थल सिकैँचामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै जिल्ला न्यायाधीस श्रेष्ठ सिकैँचा जानुभएको र अब निर्वाचन सम्पन्न भएपछि मात्र जिल्ला अदालतमा फर्कनुहुने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts