प्रमुख प्रशासकीय अधिकृत नहुँदा रोकियो तलब
-उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर १० । ताप्लेजुङको एकमात्र फुङ्लिङ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारी तलब खानबाट बञ्चित भएका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकामा कार्यरत सबै कर्मचारीले दुई महिनादेखि तलब सुविधा खानबाट बञ्चित हुनुपरेको हो ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनालको असोज पहिलो साता सङ्खुवासभाको चैनपुर नगरपालिकामा सरुवा भएपछि फुङ्लिङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिहीन बनेको हो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकामा कार्यरत कर्मचारीले दुई महिनादेखि अर्थात असोज र कात्तिक महिनाको तलब खान पाएका छैनन् । नगरपालिका कार्यालय, ११ वटै वडा कार्यालय, स्वास्थ्य संस्था लगायतमा कार्यरत कर्मचारीले तलब खानबाट बञ्चित हुनुपरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकामा कार्यरत करिव १५० जना विभिन्न कर्मचारीले तलब खान नपाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले जानकारी दिनुभयो । निमित्त प्रमुख प्रशासकीय अधिृकतको जिम्मेवारी पाएपछि नगरपालिकाको अरु सबै काम गर्दै आएको, तर आर्थिक कारोबारको अख्तियारी भने आफूलाई नभएको पौडेलले बताउनुभयो ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खनालले भदौ महिनाको तलब निकासा गर्दा दसैँ खर्चसमेत निकासा गरी दिएकाले चाडपर्व भने मनाउन पाएको कर्मचारी बताउँछन् । यता दुई महिनादेखि तलब नपाउँदा तलब थापेपछि गर्ने कामको योजनाहरु सबै प्रभावित भएको कर्मचारीको भनाइ छ । कर्मचारीका अनुसार कतिपय पूर्व तयारीमा रहेको योजना कार्यान्वयन गर्नलाई तलब नपाएपछि आर्थिक व्यवस्थापन गर्न निकै हैरानी खेप्नु परेको छ ।
उता नगरपालिकाभित्र कार्यरत बाल विकास सहयोगी कार्यकर्ता, विद्यालय कर्मचारी र विद्यार्थीको दिवा खाजाको रकमसमेत रोकिएको छ । फुङ्लिङ नगरपालिका–८ दोखुस्थित शिवालय आधारभूत विद्यालयका प्रधानाध्यापक कमल भट्टराईका अनुसार बाल विकास सहयोगी कार्यकर्ता, विद्यालय कर्मचारी र विद्यार्थीको दिवा खाजाको रकम साउनदेखि नै निकासा भएको छैन ।
नगरपालिकाको तर्फबाट भुक्तानी हुने रकम हालसम्म निकासा नभएको र यसबारे जिज्ञासा राख्दा प्रमुख प्रशासकीय अधिकृत नभएकाले भन्न जवाफ आउने गरेको भट्टराईको भनाइ छ । फुङ्लिङ नगरपालिकाभित्र ५१ वटा विद्यालय रहेका छन् । उक्त विद्यालयहरुमा कार्यरत बाल विकास सहयोगी कार्यकर्ता, कर्मचारी र हजारौं विद्यार्थीको दिवा खाजाको रकम चालू आर्थिक वर्षपछि हालसम्म निकासा नभएको बताइएको छ ।
प्रमुख प्रशासकीय अधिृकत नहुँदा तलबभत्ता मात्र नभई आर्थिकसँग जोजिएका नगरपालिकाका अन्य कामहरूसमेत प्रभावित भएका छन् । आर्थिकका कारण कतिपय समयमै सक्नुपर्ने काम तथा योजना नराम्ररी प्रभावित बनेको स्थानीय उपभोक्ता बताउँछन् ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएदेखि नै खोजीमा लागे पनि करिव अढाइ महिनापछि भने फुङ्लिङ नगरपालिकामा आउने प्रमुख प्रशासकीय अधिकृतको टुङ्गो लागेको नगरप्रमुख अमिर मादेनका स्वकीय सचिव अञ्चल गुरुङले बताउनुभयो । गुरुङका अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतमा विष्णुप्रसाद गुरुङ आउनुहुने भएको छ । नयाँ प्रमुख प्रशासकीय अधिकृत गुरुङ केही दिनभित्रै आइपुग्नुहुने पनि उहाँले जानकारी दिनुभयो ।