थाहै नपाई लाग्ने रोगहरुको असरबाट बचाउन पाथीभरा याङवरकद्धारा ‘नागरिकसंग स्वास्थ्यकर्मी कार्यक्रम’सुरु

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १० । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले पालिकाभरीका प्रत्येक वडाका नागरिकहरुको घर–घरमा पुगी स्वास्थ्य परीक्षण तथा उपचारको प्रवन्ध गर्न ‘नागरिकसंग स्वास्थ्यकर्मी कार्यक्रम’ सुरु गरेको छ ।

सुगर,प्रेसर लगायतका थाहै नपाई लाग्ने रोगहरुको असरबाट नागरिकलाई बचाउन वडा नं २ को औंसीडाँडाबाट आइतवार कार्यक्रम सुरु गरिएको पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वडाका घर–घरमा स्वास्थ्यकर्मीहरु पुगेर नागरिकहरुको स्वास्थ्य परीक्षण गर्ने तथा अत्यावश्यक औषधि समेत बितरण गर्ने कार्यक्रम सुरु भएको छ । अध्यक्ष सुब्बाले यसपहिले पालिकाले सञ्चालनमा ल्याएको जेष्ठ नागरिक स्वास्थ्य शिविरका क्रममा अधिकाँस मानिसहरुमा सुगर,प्रेसर लगायतका स्वास्थ्य समस्या भएको थाह पाएपछि पालिका भरीका नागरिकको स्वास्थ्य परीक्षण तथा उपचारका लागि नागरिकसंग स्वास्थ्यकर्मी कार्यक्रम अघि सारिएको जानकारी दिनुभयो ।

नागरिकहरुमा थाहै नपाई देखा पर्ने स्वास्थ्य समस्याको विकराल अवस्था अन्त्यका लागि पालिकाका ६ वटै वडाका नागरिकहरुका घर–घरमा पुगी स्वास्थ्य परीक्षण तथा उपचारको प्रवन्ध गरिएको पालिकाले जनाएको छ । पालिकाले वडातहको कार्यक्रम सञ्चालन तालिका बनाई स्वास्थ्यकर्मी बिहान देखि साँझ सम्म स्वास्थ्य परीक्षण तथा उपचारमा खटिने समेत अध्यक्ष सुब्बाले जानकारी दिनुभयो । कार्यक्रम शुभारम्भ कार्यक्रममा पाथीभरा याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरे,वडा नं २ का वडाध्यक्ष बलुराम मेन्याङ्वो लिम्बू सहितको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts