वडाका मृतक सदस्यका आफन्तलाई फुनपा–८ ले दिन थाल्यो १० हजार रुपैयाँ काजक्रिया खर्च
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १० । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ८ ले पूर्व घोषित कार्यक्रम अनुसार मृतक सदस्यका आफन्तलाई घरमै पुगेर काजक्रिया खर्च उपलब्ध गराउन थालेको छ ।
वडा पालिकाले चालू आर्थिक बर्षका लागि मृतक सदस्यका आफन्तलाई क्रियाखर्च र सुत्केरी सदस्यलाई पोषण सामग्री उपलब्ध गराउने योजना तय गरेको थियो । फुङलिङ नगरपालिकाको सामाजिक विकास समितिका संयोजक समेत रहेका वडाध्यक्ष क्षितिज सुनुवारले मृत्यु भएका वडाभरीका नागरिकका आफन्तलाई नगद १० हजार रुपैयाँ क्रियाखर्च उपलब्ध गराउन थालिएको बताउनुभयो । उहाँका अनुसार फुङलिङ नगपालिका वडा नं ८ का रामबहादुर मगरका छोरा हर्कबहादुरको मृत्यु भएकोमा मृतककै घरमा पुगेर मृतकका आफन्तलाई नगद १० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।
वडा भरीका कोहि नागरिकको मृत्यु भएमा काजक्रिया खर्चमा सहयोग पुग्ने गरी वडापालिकाकोतर्फबाट सहयोग गर्ने ध्येय अनुसार उक्त रकम बितरण गर्न थालिएको वडाध्यक्ष सुनुवारले जानकारी दिनुभयो । यसअघिबाटै वडाभरीका सुत्केरीहरुलाई जनही ५ हजार रुपैयाँ बराबरको पोषण सामग्री लिएर वडाका पदाधिकारीहरु सुत्केरी सदस्यको घरघरमै जान थालिसक्नु भएको छ । वडाले यसअघि वडाले वडाभरीका ७ वटा विद्यालयमा उत्कृष्ट हुने प्रत्येक बिद्यालयका तीनजना गरी २१ जना विद्यार्थी,उत्कृष्ट ७ शिक्षक र उत्कृष्ट ७ बिद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीलाई पुरस्कृत तथा सम्मानित गर्ने घोषणा गरिसकेको छ ।