सिकैचा उपनिर्वाचन : १२ गते मतदान अधिकृत तोकिने,एक मतदानस्थलमा ६ जना कर्मचारी खटिंदै

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ९ । मंसिर १६ गते हुने ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्ष उपनिर्वाचनका लागि १२ गते मतदान अधिकृत तोकिने भएको छ ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस विकास श्रेष्ठले मतदान अधिकृत तोकी सोहिदिन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि तालिम सञ्चालन गरिने जानकारी दिनुभयो । सिकैचा उपनिर्वाचनका लागि सरस्वती मावि कुञ्जारी र दुर्गा मावि ओसे गरी दुई मतदान स्थल र दुईवटै मतदान केन्द्र रहेका छन् । मतदान केन्द्रमा खटिने एक मतदान अधिकृत र एक सहायक मतदान अधिकृत गरी दुईवटा मतदान केन्द्रका ४ जना तथा जगेडामा राखिने थप दुई मतदान अधिकृत सहित गरी ६ जनालाई तालिम दिइने श्रेष्ठले जानकारी दिनुभयो । मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको सिरिजङ्गा गाउँपालिका वडा नं ३ को सिकैचा वडा कार्यालयमै तालिमको प्रवन्ध गरिएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो । निर्वाचन आयोगको परिपत्र अनुसार यसका बारेमा जिल्ला निर्वाचन कार्यालयसंग समन्वय भइसकेको समेत उहाँले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार सुरक्षा जनशक्ति बाहेक प्रत्येक मतदान केन्द्रमा ६ जना कर्मचारी खटिने छन् । निमित्त जिल्ला निर्वाचन अधिकारी वान्दवराज(विपिन) दुलालका अनुसार प्रत्येक मतदान केन्द्रमा एकजना मतदान अधिकृत,एकजना सहायक मतदान अधिकृत,२ जना सहायक कर्मचारी,एकजना सहयोगी कर्मचारी र एकजना महिला स्वयंसेवक गरी कूल ६ जना कर्मचारी परिचालित हुने छन् । यो सुरक्षाकर्मी बाहेकको संख्या हो । दुलालका अनुसार सिकैचा उपनिर्वाचनको मतपत्र आइतवार साँझ ताप्लेजुङ आइपुग्ने छ । निर्वाचन आयोगबाट मतदाता नामावलीको प्रमाणित प्रति र मतदाताहरुलाई प्रयोग गरिने नंगमा लगाउने मसी सहितका सामग्री यसअघि नै प्राप्त भइसकेको समेत दुलालले जानकारी दिनुभयो ।‘निर्वाचनका लागि आवश्यक सबै सामग्री तयारी अवस्था छ’दुलालले भन्नुभयो । उहाँले निर्वाचनका तयार भएका सबै सामग्री मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको समेत बताउनुभयो ।

सिकैचाको वडाध्यक्षका लागि हुने उपनिर्वाचनमा एकहजार पाँचसय २८ मतदाता रहेका छन् । दुई मतदान स्थलमध्ये कुञ्जारी मतदानस्थलमा एकहजार २६ र ओसे मतदान स्थलमा पाँचसय दुई मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उपनिर्वाचनका लागि नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा(माओवादी)केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गरी ५ राजनीतिक दलका ५ जना उम्मेदवार चुनावी मैदानमा छन् । २०७९ सालको स्थानीय तहको निर्वाचनमार्फत निर्वाचित वडाध्यक्ष दिलप्रसाद बोखिमले बैदेशिक रोजगारीमा गएर हङकङबाटै राजिनामा पत्र पठाएपछि सिकैचामा उपनिर्वाचन हुन लागेको हो ।

 

Similar Posts