फुङफुङ्गे झरना पर्यटन महोत्सवको पूर्व सन्ध्यामा झरना आसपासमा गरियो सफाई

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १ । यही मंसिर ७ देखि १० गते सम्म ताप्लेजुङको मिक्वाखोलामा हुने फुङफुङ्गे झरना पर्यटन महोत्सवको पूर्व सन्ध्यामा शनिवार झरना आसपासको क्षेत्रमा सफाई गरिएको छ ।
आयोजक फुङ्फुङगे झरना पर्यटन विकास समितिको अगुवाईमा झरना आसपास सफाई गरिएको आयोजक समिति अध्यक्ष विजय साँवाले जानकारी दिनुभयो । सफाई कार्यक्रममा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की,प्रमुख प्रशासकीय अधिकृत बिमल गौतम,मध्य मेवा जलविद्युत परियोजनाका कुमार अर्याल,रणशेर गण सुरक्षा गुल्म,तेम्बा क्याम्प पोष्ट प्रमुख बुद्धिमान श्रेष्ठ तथा गुल्मका कार्यरत ११ जना सैनिक जनशक्ति सहित पालिकाका कर्मचारी,महोत्सव मूल आयोजक समितिका सल्लाहकार नुपुछिरिङ शेर्पा लगायतको सहभागिता रहेको बताईएको छ ।
खेलकुदका माध्यमबाट समेत पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा राखेर त्यहाँ महोत्सवका साथ वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता समावेश गरिएको छ । महोत्सव तथा खेलकुदका माध्यममार्फत पर्यटकीय स्थलको प्रचारप्रसार भई गाउँपालिका मात्र नभएर सिङ्गो जिल्लाको पर्यटन प्रवद्र्धन तथा विकासमा टेवा पु¥याउने यसअघि पर्यटन मेला लगाउने भनिएकोमा महोत्सवको रुपमा रुपान्तरण गरी कार्यक्रम थप बृहत्त बनाईएको आयोजक समितिले जनाएको छ । त्यहाँ फुटबल प्रतियोगिताका साथ बिभिन्न सांस्कृतिक कार्यक्रम अन्य मनोरञ्जनात्मक कार्यक्रम समेत हुने भएका छन् ।