..‘अनि मनमायाले आफ्ना साहिलाँ छोरा चिनिन्,श्यामले उपचारको पहुँचमा गए आँखाको रोग निको हुने बुझे’
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २८ । चारबर्षअघि ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका चाँगेकी ६५ बर्षिय मनमाया लिम्बूका दुबै आँखा अचानक बन्द भए । सुरुमा धमिलो देख्ने उहाँले पछिल्ला चारबर्षमा केहि देख्न छाड्नुभयो । घरायसी उपचार र झारफुकले समेत मनमायाको आँखा खुलेन ।
के भएको हो,निको होला नी ! भनेर बस्दाबस्दै चारबर्ष सम्म मनमायाले अध्याँरो जीवनमा समय बिताउनु पर्यो । उहाँका छोरा उज्वलले सदरमुकाम फुङलिङमा आँखा उपचार शिविर हुने कुरा थाह पाउनुभयो । बन्द भएको आफ्नी आमाको आँखा खुल्ने उहाँमा आसा जागेपछि चाँगेबाट उहाँले आमालाई उपचारका लागि फुङलिङ ल्याउनुभयो । उहाँको दुबै आँखामा मोतियाबिन्दु भएको रहेछ । दुबै आँखाको एकसाथ शल्यकृया सम्भव भएन । मेची आँखा अस्पतालका नेत्र चिकित्सक डाक्टर समिर चापागाँईको नेतृत्वमा रहेको चिकित्सक तथा प्राविधिकको टोलीले मनमायाको एउटा आँखाको शल्यकृया गर्यो । शल्यकृया पछि उहाँलाई आँखाको सफाई र हेरचाहबारे अनुशिक्षण गराईयो ।
शल्यकृयाका क्रममा आँखामा लागेको पट्टी खोलेपछि मनमायाले सबैतिर नियाल्नुभयो । नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले पट्टी खोल्दै छेउमा रहेका मनमायाका छोरा उज्वलतर्फ संकेत गरेर ‘उ… को हो ? भनी सोध्नुभयो । मनमायाले आफ्नो साहिँलो छोरो भएको ठम्याउनुभयो । आमाले आफुलाई परैबाट ठम्याएको देखेपछि उज्वलले झन् आमातिर सरेर सोध्नुभयो– म को हो ? मनमाया मुस्कुराउनुभयो र आफ्ना छोरासंग स्नेह साट्नुभयो । ‘खैरो रंगको ज्याकेट पो लगाएको रहेछ’मनमायाले आफ्नो छोराले लगाएको लुगाको समेत पहिचान गर्नुभयो । उहाँलाई मंसिर तेस्रोसाता दोभान बजारमा हुने शल्यकृया सहितको आँखा शिविरमा अर्को आँखाको समेत शल्यकृया गर्नेगरी बोलाईएको क्लिनिक इञ्चार्ज गुरुङले जानकारी दिनुभयो ।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङले सेवा फाउण्डेसनसंगको सहकार्यमा मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोग लिएर फुङलिङमा तीनदिने शिविर आयोजना गरेको छ । शिविरमार्फत उपचार गरेर ज्योति फर्किएकाहरु अहिले आँखा बन्द भए चुप लागेर बस्ने नभई उपचारमा जानुपर्ने निश्कर्षमा पुगेका छन् ।
फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवाका श्याम खवास अहिले दुबै आँखा मजाले देख्नुहुन्छ । गत जेठमा उहाँका दुबै आँखा बन्द धमिलो हुन थाले । उपचारका लागि आउँ भन्दाभन्दै आँखाको ज्योति दिनहुँ घट्न थाल्यो ।‘यहाँ आइपुग्दा कमेरो माटोले लत्पतिएर पूरै हिलैफिलै आइपुग्नु भएको थियो,मैले उहाँलाई तत्कालै शल्यकृयाका लागि झापातिर जानु भनें ’गुरुङले सम्झिनुभयो ।
मेची आँखा अस्पताल पुगेर दाँहिने आँखाको शल्यकृया गरेर ज्योति फर्काएका श्यामलाई अर्को आँखाको ज्योति फर्कने आसा बढ्यो । अनि फुङलिङको शिविरमा आए र शल्यकृया गर्न बाँकी आँखाको शल्यकृया गर्नुभयो । अहिले श्याम दुबै आँखा मजाले देख्नुहुन्छ ।‘आँखामा समस्या भए तत्काल उपचारमा जानुपर्ने रहेछ भन्ने ज्ञान मैले यो उपचार पछि थाह पाएँ’खवासले भन्नुभयो । उहाँले आँखामा समस्या भएका मानिसलाई हेलचेक्र्याँई गरेर बस्ने नभई तत्काल उपचारको पहुँचमा जान समेत सुझाउनु भएको छ ।
मेची आँखा अस्पतालका आउटरिर्च अफिसर कविता कार्कीका अनुसार आँखामा समस्या भए तत्काल उपचारमा जानुपर्छ । आँखा सम्बेदनशिल अंग भएकोले यसको जोगावटका लागि मानिसले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । ‘आँखाको ज्योति गुमे संसार अध्याँरो हुन्छ,त्यही भएर आँखा जोगाउने उपायतिर लाग्नु राम्रो हो’कार्कीले भन्नुभयो । उहाँले उपचारको पहुँचमा गए आँखाको अधिकाँस समस्या समाधान हुने समेत बताउनु भएको छ ।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङले बर्षमा कम्तिमा दुईपटक शल्यकृया सहितको शिविर आयोजना गर्ने गरेको छ । नेत्रज्योति संघले ताप्लेजुङको फुङलिङ र दोभानका अलवा पाँचथरका याङवरक र कुम्मायक गाउँपालिकामा समेत आँखा उपचार केन्द्र सञ्चालन गरेको छ । त्यहाँ समेत गरी बर्षमा कम्तिमा ८ पटक सम्म शल्यकृया शिविरको आयोजना हुने नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले जानकारी दिनुभयो । आर्थिक बर्ष २०८०।८१ मा मात्र नेत्रज्योति संघ ताप्लेजुङ मातहतका आँखा उपचार केन्द्रमार्फत करिव १३ हजार नागरिकले आँखा स्वास्थ्य सेवा पाएको नेत्रज्योति संघ ताप्लेजुङले बताएको छ ।
कात्तिक २६ गतेबाट फुङलिङमा सुरु भएको आँखा शिविरमा ७४ जनाको आँखाको शल्यकृया गरिएको छ । ति मध्ये ६१ जनाको मोतियाबिन्दुको र १३ जनाको साधारण शल्यकृया गरिएको छ । शिविरका तीनदिन भित्रमा ६ सय ७७ जनाले आँखाको परीक्षण तथा उपचार गराएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड आईवर्कर काजीमान थेबेले जानकारी दिनुभयो ।