फुङलिङमा सञ्चालित आँखा शिविर : करिव ५ सयले गराए आँखाको परीक्षण तथा उपचार,शल्यकृया सेवा जारी
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २७ । ताप्लेजुङको फुङलिङमा जारी शल्यकृया सहितको तीनदिने निःशुल्क आँखा शिविरको दोस्रो दिन सम्ममा झण्डै ५ सय जनाले आँखाको परीक्षण गराएका छन् । ४६ जना भन्दा बढीको आँखाको शल्यकृया गरिएको छ भने बाँकी ९ जनाको मंगलवारै शल्यकृया गर्ने कार्यक्रम रहको छ ।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङका अनुसार मंगलवार २ सय ५५ जनाले आँखाको परीक्षण तथा उपचार गराएका छन् । सोमवार पहिलो दिन २ सय २८ जनाको आँखाको परीक्षण तथा उपचार भएका थियो । दुईदिनको अवधिमा ४ सय ८३ जनाले आँखाको परीक्षण तथा उपचार गराएका छन् । पहिलो दिन मोतियाबिन्दुका २८ तथा साधारण ५ गरी ३३ जनाको आँखाको शल्यकृया गरिएको थियो । मुख्य आयोजक नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीले राति अबेर सम्म नै शल्यकृया सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार शिविर बुधवार सम्म चल्ने छ ।
मेची आँखा अस्पतालका नेत्र चिकित्सक डाक्टर समिर चापागाँई नेतृत्वको टोलीले शल्यकृया सहितको सेवा प्रदान गरिरहेको मेची आँखा अस्पतालका आउटरिर्च असिफर कविता कार्कीले जानकारी दिनुभयो । मेची आँखा अस्पताल शिविरको प्राविधिक सहयोग गर्ने निकाय हो । फुङलिङको शिविर सकिएपछि मेची आँखा अस्पतालको टोली पाँचथरको याङवरकस्थित थर्पु बजारमा जाने छ । त्यहाँ कात्तिक ३० र मंसिर १ गते गरी दुईदिन शल्यकृया सहितको निःशुल्क आँखा शिविर आयोजना गरिएको छ । सेवा फाउण्डेसन काठमाडौंसंगको सहकार्यमा आँखा शिविर सञ्चालन भइरहेको हो । शिविरका लागि हेल्पिङ हेण्ड सहयोगी संस्थाको रुपमा रहेको छ ।