पाथीभराका भक्तजनले क्यूआरबाट पनि भेटि चढाउन सक्ने !
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २७ । ताप्लेजुङको पाथीभरा मन्दिरका भक्तजनलाई डिजिटल माध्यमबाट भेटी चढाउन सक्ने प्रवन्ध गरिने भएको छ ।
लक्ष्मी सनराईज बैंक ताप्लेजुङसंगको सहकार्यमा पाथीभरा क्षेत्र विकास समितिले भेटी दान खाताको क्यूआर कोड तयार गरी मन्दिर क्षेत्रमा राख्ने भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार भक्तजनको सुबिधाका लागि मन्दिर क्षेत्रमै यो व्यवस्था गरिने छ । हाङवाङका अनुसार लक्ष्मी सनराईज बैंकमा पाथीभरा क्षेत्र विकास समितिले भेटिपाति खाता सञ्चालन गरेको छ । उक्त क्यूआर कोडमार्फत दाताहरुले पठाएको रकम सोझै भेटिपाति खातामा जम्मा हुने छ । बिद्युतीय माध्यमद्धारा भक्तजन तथा भेटि चढाउन चाहनेले इन्टरनेट उपलब्ध भएको खण्डमा उक्त क्यूआरमार्फत रकम जम्मा गर्न सक्ने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
मन्दिर क्षेत्रमा मोवाइलको नेटवर्क लाग्छ । डाटा बाहेक अरु इन्टरनेटको माध्यम भने त्यहाँ छैन । हाङवाङका अनुसार नेपाल टेलिकममार्फत त्यहाँ फोरजी सेवामार्फत इन्टरनेट चल्ने प्रवन्धका लागि टेलिकमको इलाम कार्यालयसंग सम्झौता भइसकेको छ । लक्ष्मी सनराईज बैंक ताप्लेजुङ शाखाका प्रवन्धक अनिल श्रेष्ठले पाथीभरा क्षेत्र विकास समितिका पदाधिकारी तथा सदस्यहरुलाई क्यूआर कोड तयार गरी हस्तान्तरण गर्नु भएको छ । उक्त क्यूआर कोड तत्कालै मन्दिर क्षेत्रमा राखिने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।