ताप्लेजुङको सिकैचा उपनिर्वाचन : साविक झैं दुई मतदान स्थल र दुईवटै मतदान केन्द्र कायम
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २७ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ को वडाध्यक्ष उपनिर्वाचनका लागि दुईवटा मतदान स्थल र दुईवटै मतदान केन्द्र हुने भएका छन् ।
निर्वाचन आयोगले सरस्वती मावि कुञ्जारीमा एक तथा दुर्गा मावि ओसेमा एक गरी दुईवटा मतदान स्थल तथा दुईवटै मात्र मतदान केन्द्र रहने निर्णय गरेको जानकारी प्राप्त भएको निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज दुलाल(बिपिन)ले बताउनुभयो । एकहजार भन्दा बढी मतदाता भए एउटा मतदानस्थलमा पनि दुई वा सो भन्दा बढी मतदान केन्द्र बनाउन सकिने प्रावधान रहेको छ । एक हजार पाँच सय २८ मतदाता रहेको सिकैचामा कुञ्जारी मतदान स्थलमा एकहजार २६ मतदाता छन् । एकहजार भन्दा थोरै मात्र बढी मतदाता भएकोले सो मतदान स्थलमा थप अर्को मतदान केन्द्र थप नभएको हुनसक्ने आङ्कलन गरिएको छ । मतदान केन्द्र थप हुने बित्तिकै मतदान अधिकृत सहितका सबै जनशिक्त थप गर्नुपर्ने हुन्छ ।
निमित्त जिल्ला निर्वाचन अधिकारी दुलालका अनुसार कुञ्जारी मतदान स्थलमा पाँच सय ५७ पुरुष तथा चार सय ६९ महिला मतदाता छन् । ओसे मतदान स्थलमा दुई सय ८७ पुरुष तथा दुई सय १५ महिला मतदाता रहेका छन् । यसोगर्दा सिकैचाको उपनिर्वाचनमा आठ सय ४४ पुरुष र छ सय ८४ महिला मतदाता छन् । २०७९ सालको स्थानीय तहको निर्वाचनमा पनि सिकैचामा अहिले जस्तै दुईवटै मतदान स्थल र प्रत्येक मतदान स्थलमा एक–एक गरी दुईवटै केन्द्र रहेका थिए । २०७९ सालमा कुञ्जारी मतदान स्थलमा नौ सय ९४ तथा ओसे मतदान स्थलमा पाँच सय २९ गरी कूल एकहजार पाँच सय २३ मतदाता थिए । अहिलेको उपनिर्वाचनका क्रममा पाँचजना मतदाता मात्र थपिएको देखिएको छ ।
मतदाता तुलनामा गर्दा २०७९ सालभन्दा अहिलेको उपनिर्वाचनका लागि कुञ्जारी मतदान स्थलमा ३२ जना मतदाता बढेका छन् भने ओसे मतदान स्थलमा २७ जना मतदाता घटेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ताप्लेजुङमा २०८१ साल मंसिर १५ गते सम्म १८ बर्ष पूरा हुने मतदाताको संख्या ८९ हजार १ सय ८९ रहेको छ । त्यसमा ४७ हजार ६ सय २७ पुरुष र ४१ हजार ५ सय ६२ महिला रहेका छन् । २०७९ सालको स्थानीय तहको निर्वाचनमा ४७ हजार ६ सय ५५ पुरुष र ४२ हजार २५ जना महिला गरी कूल ८९ हजार ६ सय ८० मतदाता थिए । मृत्यु भएका,नाम सारी अन्यत्र लगेका,दोहोरो नाम भए हटाईएका सहित निर्वाचन आयोगले अद्यावधिक सहितको पछिल्लो मतदाता संख्या सार्वजनिक गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।