फुङलिङले मंसिर १ देखि अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण तथा परिचय–पत्र बितरण शिविर गर्ने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २७ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले मंसिर १ गते देखि १० गते सम्म नगरक्षेत्रका ११ वटै वडामा पुगेर अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण,परिचय–पत्र बितरण तथा आवश्यकता पहिचान शिविर गर्ने भएको छ ।
कार्यक्रम संयोजक तथा नगर उपप्रमुख भीमादेवी ओझाका अनुसार नगरपालिकाको चालू आर्थिक बर्ष २०८१।८२ को स्वीकृत कार्यक्रम तथा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तरगत यस्तो शिविर सञ्चालन हुन लागेको हो । ओझाका अनुसार मंसिर १ गते वडा नं ११ फावाखोलास्थित सिम्बु माविबाट शिविर सुरु हुने छ । शिविरको दोस्रो दिन २ गते वडा नं १० फुरुम्बुस्थित मयाम माविमा,३ गते वडा नं ३ स्थित बासुसं मावि मेदिबुङमा,४ गते वडा नं ९ हाङदेवास्थित जनता माविमा र ५ गते वडा नं १ स्थित वडा कार्यालयमा शिविर सञ्चालन हुने छ ।
मंसिर ६ गते वडा नं ४ र ५ तथा ७ गते वडा नं ६ का सेवाग्राहीलाई लक्षित गरी ताप्लेजुङ उद्योग वाणिज्य संघमा शिविर हुने भएको छ । मंसिर ८ गते वडा नं ८ स्थित सिद्धकाली मावि दोखुमा,९ गते वडा नं ७ को वडा कार्यालयमा र १० गते वडा नं २ को वडा कार्यालयमा यस्तो शिविर सञ्चालन हुन लागेको नगर उपप्रमुख ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार नगर क्षेत्र भित्र अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क संकलनको कार्य सकिएको छ । अब उनीहरुलाई परिचय–पत्र बितरण तथा आवश्यकता पहिचान सहितका कार्य शिविरकै क्रममा हुने उहाँले बताउनुभयो । शिविरमार्फत नाँक,कान,घाँटी तथा आँखा सहितको स्वास्थ्य सेवा प्रदान गरिने भएको छ । ओझाका अनुसार फुङलिङमा करिव साढे ५ सय बढी नागरिक अपाङ्गताको शिकार भएको तथ्याङ्क संकलन भएको छ ।