घर बहाल करमा फुनपाको नीति:बहालमा दिएको पैंतिस दिन भित्र बहाल रकम सहितको विवरण बुझाउनुपर्ने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २५ । ताप्लेजुङको फुङलिङ नगरपालिका क्षेत्रका घरजग्गा बहालमा दिने व्यक्तिले बहालमा दिएको पैंतिस दिन भित्र बहाल रकम र बहाल अवधि सहितको विवरण नगरपालिकामा बुझाउनुपर्ने भएको छ ।
घर बहाल कर व्यवस्थापन कार्यविधि जारी गर्दै नगरपालिकाले यस्तो बताएको हो । विवरण बुझाउँदा बहाल सम्झौता पत्रको प्रतिलिपि,धनीपूर्जाको प्रतिलिपि र बहालमा बस्ने व्यक्ति वा संस्थाको आधिकारिक विवरण समेत संलग्न राख्नुपर्ने भएको छ । घरजग्गा बहालमा दिने व्यक्तिले घरजग्गाको विवरण सहित बहालको मासिक वा बार्षिक दर खुलाई कर तिर्ने दायित्व समेत किटान गरी बहाल लिने व्यक्तिसंग सम्झौता गर्नुपर्ने भएको छ । कार्यविधि लागु हुनु अगावै घरजग्गा बहालमा दिएको भए उनीहरुले समेत बहाल रकम र बहाल अवधि सहितको विवरण नगरपालिकामा बुझाउनुपर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले करदाताले पेश गरेको विवरण र बहाल सम्झौतामा उल्लेखित रकमलाई आधार मानी कर निर्धारण गर्ने भएको छ । तर,करदाताले पेश गरेको विवरण र बहाल सम्झौतामा उल्लेखित रकम नगरपालिकाले तोकेको न्यूनतम् दर भन्दा कम भएमा नगरपालिकाले तोकेको न्यूनतम् बहाल करलाई आधार मानेर कर निर्धारण हुने भएको छ ।
घरजग्गा बहालमा दिने व्यक्तिले प्रत्येक आर्थिक बर्षको बहाल कर सोहि आव भित्र दाखिला गर्नुपर्ने भएको छ । करदाताले तिर्नु बुझाउनुपर्ने रकम अग्रिम रुपमा दाखिला गर्न चाहेमा तिर्नुपर्ने करमा छुट समेतको प्रवन्ध गरिएको नगरपालिकाले कार्यविधिमा उल्लेख गरेको छ । कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको नगरपालिका क्षेत्रभित्रको घर जग्गा निश्चित अवधिका लागि पूरै वा आशिंक तवरले भोगचलन गर्न दिएवापत प्राप्त गर्ने भाडा,बहाल,लिज वा पट्टा रकम समेतमा लाग्ने कर व्यवस्थापनका लागि नगरपालिकाले कार्यविधि बनाएको हो । घर जग्गा बहालमा लगाउने व्यक्ति वा निजको प्रतिनिधिले यस्तो कर तिर्नुपर्ने हुन्छ । स्वामित्व कायम नभएको ऐलानी,पर्ती वा सार्वजनिक जग्गामा बसोबास गर्ने व्यक्तिले आफ्नो घरजग्गा अन्य व्यक्ति वा संस्थालाई बहालमा दिएको वा कुनै जग्गा लिजमा लिई घरभाडामा लगाएको व्यक्तिले समेत घर बहाल कर तिनुपर्ने नगरपालिकाले जनाएको छ । मुनाफाको उद्देश्य नराखी सञ्चालन हुने बिद्यालय,मन्दिर,पुस्तकालय,क्लव,सामुदायिक संस्था र सरकारी निकायहरुका हकमा भने घर बहाल कर लाग्ने छैन ।