काफ्लेपाटीमा कोणसभा: केबुलकार खारेज गर्न माग
-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक २४ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा निर्माण गर्न लागिएको केबुलकार परियोजनाविरुद्ध रहेको पक्षले परियोजना खारेज गर्नुपर्ने माग गरेको छ । शनिबार परियोजनाविरुद्ध पाथीभरा क्षेत्रको काफ्लेपाटीमा विरोधमा रहेको पक्षले कोणसभा गर्दै केबुलकार खारेज गर्नुपर्ने माग गरेको हो ।
काफ्लेपाटी क्षेत्रमा प्रदर्शन र कोणसभा गर्दै परियोजना विरोधी पक्षले कुनै पनि हालतमा केबुलकार बन्न नदिने दोहो¥याउँदै खारेज गर्न माग गरेको छ । परियोजनाको विरोध गर्दै आएको मुक्कुमलुङ संयुक्त संघर्ष समितिका संयोजक श्री लिङ्खिमले कोणसभालाई सम्बोधन गर्नुहुँदै केबुलकार तत्काल खारेज गर्नुपर्ने बताउनुभयो ।
लिङ्खिमले शुक्रबार काफ्लेपाटी क्षेत्रमा भएको झडपका क्रममा धारिलो हतियार खुकुरी र ढुंगा प्रहार गरी मजदुरसहित आन्दोलनकर्मीलाई घाइते बनाउनेमाथि कानुनी कारबाहीको माग गर्नुभयो । उहाँले सामाजिक अशान्ति फैलाउने र आतङ्कित बनाउनेगरी भएको झडपको अवस्था सिर्जना गर्नमा नेतृत्व गर्ने समेतलाई कानुनी दायरामा ल्याउनुपर्ने प्रशासनसँग माग गर्नुभयो ।
यस्तै पहिचानको लागि युवाफोर्सका संयोजक नवीन पोमुले संवेदनशील विषयमा प्रशासन मुकदर्शक बन्नु नहुने बताउनुभयो । संवेदनशील विषयमा गम्भीर नबने र संघर्षरत पक्षको मागलाई सरकारले बेवास्ता गरे कडा आन्दोलनसहित प्रतिकारमा उत्रन बाध्य हुने उहाँले बताउनुभयो । कोणसभालाई पहिचानवादी महिला नेतृ रीता मादेनले पनि सम्बोधन गर्नुभएको थियो ।
सम्बोधनका क्रममा वक्ताहरुले केबुलकार खारेजसँगै निर्माणको कामका लागि पाथीभरा क्षेत्र पु¥याइएको एक्साभेटर सहितका निर्माण सामग्री तत्काल हटाउन पनि निर्माण कम्पनी र परियोजना पक्षलाई आग्रह गरेका छन् । शुक्रबार केबुलकार परियोजनाको शिलान्यास गर्ने क्रममा परियोजनाको पक्ष र विपक्षबिच ढुंगा हानाहान अर्थात झडप भएको थियो । झडपका क्रममा दुवै पक्षका र प्रहरीसमेत गरी छ जना घाइते भएका थिए ।
यता केबुलकार परियोजनाको निर्माण कार्यको जिम्मा पाएको निर्माण कम्पनी हिमालयन कन्स्ट्रकसन प्रालिका सञ्चालक इन्द्र केदेमले शुक्रबार परियोजनाको शिलान्यास भएको र अब कामलाई निरन्तर अघि बढाउने बताउनुभयो । निर्माण व्यवसायी केदेमले विवादमा नगई समन्वय र सम्वाद गर्दै कामलाई निरन्तरता दिने बताउनुभयो । परियोजनाको विपक्षमा रहेकालाई पनि केबुलकारको काम गर्नमा सहयोग गर्न उहाँले आग्रह गर्नुभएको छ ।
पाथीभरा क्षेत्रमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्षसमेत रहनुभएका चन्द्र ढकाल नेतृत्वको पाथीभरा (मुक्कुमलुङ) दर्शन केबुलकार प्रालिले केबुलकार निर्माण गर्न लागेको हो । केबुलकार निर्माण गरिने भएपछि मुक्कुमलुङ संयुक्त संघर्ष समिति र केबुलकार खारेजी संघर्ष समितिले सुरु देखि नै विरोध गर्दै आएको छ ।