अलैँचीको मूल्य लाख नजिक
-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक २४ । कालो सुनको उपमा पाएको अलैँचीको मूल्य निरन्तर वृद्धिको क्रमसँगै प्रतिमन एक लाख रुपियाँ नजिक पुगेको छ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँची मूल्य मन (४० किलोग्राम) को लाख नजिक अर्थात ९७ हजार रुपियाँ पुगेको हो ।
स्थानीय व्यवसायी कमल बरालका अनुसार शनिबार प्रतिमन ९७ हजार रुपियाँमा कारोबार भएको छ । व्यवसायी बरालले ठूलो दाना, धुलो र पुच्छररहित गुणस्तरीय अलैँची उक्त मूल्यमा खरिदबिक्री भएको जानकारी दिनुभयो । सामान्य अर्थात चलनचल्तीको अलैँची भने प्रतिमन ९१ हजार रुपियाँमा कारोबार भएको उहाँले बताउनुभयो ।
व्यवसायीका अनुसार शुक्रबारसम्म अलैँचीको मूल्य स्थानीय बजारमा मनको ९० रुपियाँ रहेको थियो । प्रतिमन एक हजार र एक हजार ५०० रुपियाँले वृद्धि हुँदै आएको अलैँचीको मूल्य यसपटक एकैचोटी छ हजार रुपियाँभन्दा बढीले वृद्धि भएको व्यवसायी बताउँछन् । यसवर्ष अलैँची बजारमा निस्कन थाल्दा नै मूल्य मनको ६० हजार रुपियाँभन्दा माथि रहेको थियो ।
अलैँची बजारमा आउन थालेपछि मूल्य निरन्तर बढ्दै गएको अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रबीर रेग्मीले जानकारी दिनुभयो । भदौको पहिलो सातादेखि बजारमा निस्कन थालेको अलैँचीको मूल्य यसपटक सामान्य भए पनि निरन्तर बढिरहेको अध्यक्ष रेग्मीले बताउनुभयो । अहिले अलैँची निस्कने क्रम पनि जारी रहेको छ । हिजोआज लेक क्षेत्रमा रहेको बगानबाट किसानले धमाधम अलैँची निकाली रहेका छन् । मङ्सिर पहिलो साता सम्ममा अलैँची टिप्ने र थन्क्याउने काम सकिने किसानको भनाइ छ ।
अलैँची ताप्लेजुङको प्रमुख नगदेबालीमा पर्दछ भने नेपालकै सबैभन्दा धेरै अलैँची उत्पादन हुने जिल्ला पनि हो । यहाँ करिव चार हजार ५०० बढी हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट करिव तीन हजार मेट्रिकटन अलैँची उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांक रहेको छ । यता अलैँचीको मूल्य निरन्तर बढ्दै जाँदा स्थानीय किसान तथा व्यवसायी उत्साहित छन् ।