चालू सिजनमा ताप्लेजुङ आउने बिदेशी पर्यटकको संख्या अघिल्लो आवमा भन्दा बढी
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २४ । यो सिजनमा ताप्लेजुङ आउने बिदेशी पर्यटकको संख्यामा अघिल्लो बर्षको यही सिजन भन्दा बृद्धि भएको छ । पर्यटन व्यवसायीहरुका अनुसार बिदेशी पर्यटकहरुका लागि चैतदेखि एक सिजन र भदौदेखि दोस्रो सिजन सुरु हुन्छ ।
दोस्रो सिजनको कात्तिक तेस्रो सातासम्मको अवधिमा ताप्लेजुङमा करिव ७ सय जना बिदेशी पर्यटक आएका छन् । कञ्चनजंघा संरक्षण क्षेत्रका पर्यटन सहायक टाँसीतेञ्जिङ शेर्पाका अनुसार यो सिजनमा सबैभन्दा बढी फ्रान्स,जर्मनी र अष्ट्रेलियाका नागरिक आएका छन् ।‘आउन त धेरै देशका नागरिक आएका छन्,सबैभन्दा बढी तीन देशका छन्’टाँसीतेञ्जिङले भन्नुभयो । उहाँका अनुसार अमेरिका,क्यानडा नेदरल्याड,जापान,कोरिया सहितका देशका नागरिक पनि आएका छन् । अघिल्लो बर्षको यही सिजनमा ताप्लेजुङ आउने पर्यटकको संख्या ६ सय भन्दा कम रहेको जानकारी उहाँले दिनुभयो । चैत,वैशाख,जेठ, भदौ,असोज,कात्तिक र मंसिर महिनामा विदेशी पर्यटकहरु पदयात्राका लागि आउने गरेका छन् । आरोहण भने सबैभन्दा बढी वैशाख र जेठमा हुने गरेको पाइएको छ ।
असार र साउनमा बर्षा तथा पुस,माघ र फागुनमा हिउँका कारण यो अवधिमा बिदेशी पर्यटकको आवागमन ठप्प प्राय हुने गरेको छ । ताप्लेजुङ आउने सबैभन्दा बढी बिदेशी पर्यटक कञ्चनजंघा हिमाल केन्द्रित हुने पर्यटन व्यवसायीहरु बताउँछन् । आठ हजार पाँचसय ८६ मिटर अग्लो कञ्चनजंघा विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल हो । कञ्चनजङ्घा जान तीन वटा पदमार्ग छन् । सदरमुकाम फुङलिङबाट फक्ताङलुङ गाउँपालिकामा पर्ने सिँवा–छिरुवा–तापेथोक–घुन्सा हुँदै जान सकिन्छ । तापेथोक सम्म सवारीमा जान सकिन्छ भने त्यसउताको भागमा भने पैदलयात्रा पार तय गर्नुपर्छ । कञ्चनजंघा जाने अर्को पदमाग भनेको सुकेटार हुँदै सिरिजङ्घा गाउँपालिकाको सिकैचा–तेल्लोकको माथिल्लो भाग–पेदाङ,फुम्पेडाँडा–मामाङखे हुँदै याम्फुदिन भएर पुग्न सकिन्छ । तेस्रो मार्ग भनेको यस्तै पाँचथरको गणेशचोक–दाहालगाउँ–सिनाम–आम्बेगुदिन–हप्पुखोला–खेवाङ हुँदै याम्फुदिन सम्म जान सकिन्छ । हिउँद याममा याम्फुदिन सम्म नै सवारीमा यात्रा गर्न सकिन्छ ।